Prakash Adhikari January 2, 2026

 

  • प्रदीप बस्याल, पवनराज पौडेल र अशोक दाहाल
    बीबीसी न्यूज नेपाली

काठमाडौं, १८ पौष । गत भदौ महिनामा भएको जेन जी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि प्रश्न सोधेको र त्यसको उत्तर प्राप्त भइसकेको उक्त आयोगका प्रवक्ता विज्ञानराज शर्माले बीबीसीलाई बताउनुभएको छ।

नवयुवाहरूले भदौ २३ गते गरेको प्रदर्शनमा सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर कैयौँ व्यक्तिहरूको मृत्यु भएको थियो।

त्यसको भोलिपल्ट आन्दोलन चर्किएपछि राजधानी काठमाण्डूसहित विभिन्न स्थानमा हिंसात्मक गतिविधिहरू, लुटपाट, तोडफोड र आगजनीका घटनाहरू भएका थिए। त्यसपछि पहिले गृहमन्त्री, अनि अन्य केही मन्त्री र भोलिपल्टै प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको थियो ।

“उहाँको ‘राष्ट्रपतिकोे जबाफ नै आइसक्यो….,’ बीबीसीसँग सङ्क्षिप्त कुरा गर्दै शर्माले भन्नुभयो। उहाँका अनुसार आयोगले १०-१२ दिनअघि राष्ट्रपति पौडेललाई एउटा प्रश्नावली पठाएको थियो।

उहाँले त्यतिबेलाको घटनाक्रम ‘कसरी, के?’ भन्ने बुझ्न खोजिएको बताउनुभयो ।

आयोगले तात्कालिक गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ।

तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने तयारी हुँदै गरेको भए पनि अझै पत्र काट्न बाँकी भएको आयोगले जनाएको छ।

प्रदर्शनमा रक्तपात भएपछि आक्रोशित मानिसहरूले भोलिपल्ट संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत र शीतलनिवाससहित विभिन्न सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूका घर तथा अन्य निजी सम्पत्तिमा आक्रमण गर्दा ठूलो क्षति भएको थियो।

त्यही सेरोफेरोमा जेलबाट हजारौँ कैदीबन्दीहरू भागेका थिए।

सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई पनि प्रश्न

आयोगले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई पनि पत्र पठाएको छ।

सभामुख घिमिरेले सोमवार पुस १४ गते आयोगबाट प्रश्नावली प्राप्त गरेको उहाँका सञ्चारविज्ञ शेखर अधिकारीले बताउनुभयो ।

“१० पृष्ठका प्रश्नहरूमा धेरैजसो घटनाका विवरण खोजिएको छ भने कतिपय सैद्धान्तिक प्रश्न पनि छन्”, उहाँले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।

राष्ट्रिय सभाका अध्यक्ष दाहालले आफूलाई आयोगबाट पत्र आएको पुष्टि गर्नुभयो । “सचिवालयमा पत्र आइपुगेको छ। तर त्यसमा जबाफ दिने कुनै समयसीमा तोकिएको छैन भन्ने मलाई जानकारी गराइएको छ। म त्यसको अध्ययन गर्दै छु”, उहाँले भन्नुभयो।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको आयोगले भदौ २३ र २४ गतेको जेन जी आन्दोलनसम्बन्धी गठित जाँचबुझ आयोगले कार्यादेश थपेर काम गरिरहेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई समेत त्यसै गरी प्रश्नावली पठाइएको आयोग प्रवक्ता शर्माले बताउनुभयो।

“उहाँहरू पीडित समेत हुनुहुन्छ। उहाँहरूका घर पनि जलेका छन्। सँगसँगै उहाँहरूको अनुभवका कुरा बुझ्नका लागि प्रश्नावली पठाएको हो। उहाँहरूले भरेर पठाउनुहुन्छ।”

आयोगका प्रवक्ताका अनुसार केपी शर्मा ओलीलाई भने अझै पत्र पठाउन बाँकी छ। उनलाई पठाउने पत्रमा भने त्यस्तो प्रश्नावली नहुने जानकारी आयोगले दिएको छ।

भदौ २४ गते आक्रोशित मानिसहरूले बूढानीलकण्ठस्थित देउवाको निवासमा आक्रमण गरेर उनलाई र उहााँकी पत्नी तथा तात्कालिक परराष्ट्रमन्त्री आरजू देउवालाई कुटपिट गरेका थिए भने घरमा आगजनी गरेका थिए।

त्यसै गरी बालकोटस्थित ओलीको निवास र प्रचण्डको खुमलटारस्थित निवासमा पनि आगजनी गरेका थिए।

आयोगले के सोधेको छ
आयोगले राष्ट्रपतिसहित संवैधानिक निकायका तीन प्रमुख र दुई पूर्वप्रधानमन्त्रीलाई पठाएको प्रश्नावली एकै किसिमको छ कि त्यसमा भिन्नता छ भन्ने खुल्न बाँकी छ।

तर बीबीसीले हेर्न पाएको एउटा प्रश्नावलीमा ती उच्च पदाधिकारीसँग सम्बद्ध संस्थाको कार्यालयको सुरक्षा व्यवस्था, त्यहाँ भएको क्षतिका विवरणदेखि थप प्रमाणहरू भए त्यो उपलब्ध गराउन भनिएको छ।

गोली प्रहारका विषयमा सर्कुलर जारी गरिएको थियो कि थिएन, आन्दोलन चर्किँदा स्थिति नियन्त्रणबाहिर जान सक्ने जोखिमको मूल्याङ्कन भएको थियो कि थिएन र क्षतिका लागि कसलाई र आफू स्वयंलाई कति जिम्मेवार ठान्नु हुन्छ भन्नेसहितका प्रश्नहरू छन्।

“अधिकांश प्रदर्शनकारीहरू निहत्था थिए भन्ने तपाईँलाई जानकारी थियो कि थिएन?” अर्को प्रश्न सोधिएको छ।

Share Now