Prakash Adhikari January 5, 2026
लमजुङ, २१ पुसः जिल्लाकै ठूलो धनराशि पुरस्कारको ३३ औँ त्रिवेणी कपको उपाधि पुनः साविक विजेता विभागीय सशस्त्र प्रहरी फुटबल क्लब एपिएफको पोल्टामा पुगेको छ ।
त्रिवेणी युवा क्लब बेँसीसहरको आयोजनामा आज सम्पन्न फाइनल खेलमा ल्याङ्दी देवी फुटबल क्लब नाल्मा लमजुङलाई ०– २ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफले उपाधि जितेको हो । गतवर्ष पनि एपिएफले नै उपाधि जितेको थियो । उपाधिसँगै रु १२ लाख नगद पुरस्कार, मेडल, ट्रफी प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष टेकजङ्ग गुरुङले बताउनुभयो । उपाधिबाट चुकेको नाल्माले रु छ लाख नगद पुरस्कारमा चित्त बुझाएको छ ।
एपिएफका खेलाडी युवराज खड्काले म्यान अफ दि म्याच घोषित हुँदै नगद रु १० हजार प्राप्त गरे । उत्कृष्ट गोल रक्षक एपिएफकै एन्जल श्रेष्ठ तथा सर्वोत्कृष्ट खेलाडी सन्तोष खत्री घोषित हुँदै जनही रु २५/२५ हजार प्राप्त गर्न सफल भए ।
यस प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
Share Now