काठमाडौं, २२। नेपाल क्रिकेट संघ क्यानले आगामी महिना भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी २० विश्वकपमा खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
क्यानले कप्तान रोहित पौडेलेको नेतृत्वमा १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरेको हो ।
कप्तान पौडेल रहेको टोलीमा उपकप्तान दिपेन्द्र सिंह ऐरी छन् । टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल आसिफ शेख, आरिफ शेख, सन्दीप जोरा, बसिर अहमद, सोमपाल कामी, करन केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल, लोकेश बम समेटिएका छन् ।
बन्द प्रशिक्षणमा रहेका २४ बाट ९ खेलाडीले अन्तिम छनोटबाट बाहिरिएका छन्।
प्रशिक्षणमा रहेका कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनाष बोहरा , प्रतिश जिसी र रुपेशकुमार सिंह विश्वकप टोलीमा पर्न सकेनन् ।
दुई महिना अघि ओमानमा विश्व कप छनोट टोलीमा रहेका कुशल मल्ल र आदिल अन्सारी विश्व कप टोलीमा अटेनन् । उनीहरुको ठाउँमा बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन्।
गत महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को प्रदर्शनका आधारमा प्रशिक्षणमा परेका उनीहरू अन्तिम १५ मा पर्न सफल भएका हुन् ।
यस पटकको टी २० विश्वकप आगामी फेब्रअरी ७ बाट ८ मार्चसम्म भारत र श्रीलंकामा हुँदै छ ।
नेपालले यसपटक विश्व कपमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीको सामना गर्नेछ। नेपालले माघ २५ गते इंग्ल्याण्डसँग खेल्दै विश्व कपको यात्रा सुरु गर्नेछ। नेपाल समूह चरणका आफ्ना सबै खेल भारत मुम्बईको वाङखडे मैदानमा खेल्नेछ। बंगलादेशले भारतमा नखेल्ने जानकारी दिएकोले उसंगका खेल भारतबाहिर पनि हुनसक्छ ।
नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक टि ट्वान्टी विश्व कप खेल्दैछ। तेस्रो पटक नै विश्वकप खेल्ने सोमपाल एक्लो नेपाली खेलाडी बन्ने भएका छन्।


















