Prakash Adhikari January 6, 2026

 

न्यूयोर्क(संयुक्त राज्य अमेरिका), २२ पौष (बीबीसी) । भेनेजुएलाको अन्तरिम राष्ट्रपतिका रूपमा डेल्सी रोड्रिगेसले अपदस्थ नेता निकोलास मदुरोको रिहाइको माग गर्दै सुरु भएको संसदीय सत्रमा पदको शपथ लिनुभएको छ।

सन् २०१८ यता उपराष्ट्रपति रहेकी ५६ बर्सिया रोड्रिगेसले शनिवार राति अमेरिकी फौजले छापा मारेर कब्जामा लिएका मदुरो र उहाँकी पत्नीको अपहरणबाट आफू पीडामा रहेको बताउनुभएको छ ।

त्यसको दुई घण्टाअघि न्यू योर्कको अदालत कक्षमा भएको एउटा नाटकीय दृश्यमा मदुरोले आफू अझै भेनेजुएलाको राष्ट्रपति रहेको र आफू लागु औषध तस्करी र आतङ्कवादलगायतका चारवटा अभियोगमा दोषी नभएको बताउनुभएको छ ।

यसैबीच अमेरिकाले संयुक्त राष्ट्रसङ्घको चर्को आलोचनाको सामना गरेको छ। तर अमेरिकी राजदूतले विश्वको सबैभन्दा ठूलो ऊर्जा भण्डार ून्यायबाट भागेकोू अवैध नेताको हातमा छोड्न नसकिने प्रतिक्रिया दिनुभएको छ ।

अमेरिकी विदेश मन्त्री मार्को रुबिओ र रक्षा मन्त्री पिट हेग्सेथ सहितका राष्ट्रपति डोनल्ड ट्रम्पका अधिकारीहरूले भेनेजुएलाबारे अमेरिकी सांसदहरूलाई बताउनुभएको छ।

अमेरिकी सिनेटका एक उच्च डेमोक्र्याट चक शुमरले त्यस्तो ब्रिफिङ स्पष्ट नभएको र सन्तोषजनक पनि नभएको बताउनुभएको छ। तर सभामुख माइक जनसनले भने कारबाही निर्णायक र न्यायोचित भएको बताउनुभयो ।

यसअघि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले ‘म अझै राष्ट्रपति हु’ भन्नुभएको थियो।

न्यूयोर्क अदालतमा उहाँले लागु औषध र अन्य अभियोगहरूमा आफू दोषी नभएको बताउनुभयो ।

उहाँ र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई शनिवार कराकसस्थित निवास हाताबाट पक्राउ गरेर विशेष सैन्य कारबाहीअन्तर्गत अमेरिका लगिएको थियो।

सोमवारको सुनुवाइ एक सर्वसाधारण र मदुरोबीचको तनावयुक्त संवादसँगै सकिएको अदालतमा पुगेका बीबीसी संवाददाताले बताएका छन्।

एक जना सर्वसाधारणले मदुरोलाई स्पेनी भाषामा उनले आफूले गरेका कामको मूल्य चुकाउनुपर्ने भनेर चिच्याएर बताउनुभयो।

मदुरोले उहाँतिर फर्किएर म ‘अपहरण गरिएको राष्ट्रपति र युद्ध बन्दी’ हुँ भनेर जवाफ फर्काउनुभयो ।

त्यसपछि हतकडी लगाएका मदुरोलाई श्रीमतीको पछिपछि अदालतको पछाडिको ढोकाबाट बाहिर निकालिएको थियो।

“म एक सभ्य मानिस हुँ। म अझै पनि मेरो देशको राष्ट्रपति हुँ”, मदुरोले ३० मिनेट चलेको उक्त सुनुवाइको क्रममा भन्नुभएको थियो ।

विपक्षी नेत्री मचाडो स्वदेश फर्कने

भेनेजुएलाकी विपक्षी नेत्री मारिआ कोरिना मचाडोले फक्स न्यूजसँग बोल्दै निकोलास मदुरोविरुद्ध आफू लडेको चुनावका बारेमा चर्चा गर्नुभएको छ ।

मदुरोबारे बोल्दै उहाँले भन्नुभयो,”मदुरोले प्रणाली र चुनावी परिषद्लाई पूर्ण रूपमा नियन्त्रणमा लिनुभयो र भेनेजुएलामा स्वतन्त्र चुनाव गराउन कति असम्भव छ भनेर देखाउनुभयो। तर हामीले उहाँलाई भारी मतले हराएका थियौँ।”

यसअघि एक्समा एउटा विज्ञप्ति जारी गर्दै मचाडोले भेनेजुएलाका मानिसहरूको तर्फबाट डोनल्ड ट्रम्पलाई धन्यवाद दिनुभएको थियो। “भेनेजुएलाको स्वतन्त्रता नजिकै छ र चाँडै नै हामी हाम्रो भूमिमा उत्सव मनाउने छौँ “, उहाँले भन्नुभयो।

मचाडोले आफू सकेसम्म चाँडो भेनेजुएला फर्किने योजनामा रहेको पनि बताउनुभयो।

उहाँ धेरै महिनादेखि लुकेर बस्दै आउनुभएको थियो। उहाँका अनुसार त्यो बढी उपयोगी थियो किनभने फर्किनु उहाँका लागि असुरक्षित थियो।

उहाँले भेनेजुएलामा ‘१४ जना पत्रकारलाई पक्राउ गरिएको’ र त्यहाँ ‘तनाव आज मात्रै पनि बढेको’ बताउनुभयो । उहाँले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेसलाई विश्वास गर्न नसकिने  बताउनुभयो ।

अमेरिकालाई  मदुरोपक्राउ गर्ने अधिकार !

यसअघि, अमेरिकाका उपमहान्यायाधिवक्ता टोड ब्लान्चले सञ्चारमाध्यमसँग बोल्दै निकोलास मदुरोजस्ता व्यक्तिलाई पक्राउ गर्ने पूर्ण कानुनी अधिकार अमेरिकासँग रहेको बताउनुभयो ।

“यो कुनै देश विरुद्ध गरिएको आक्रमण होइन, र सप्ताहान्तमा भेनेजुएलाका नेतालाई पक्राउ गर्नु कुनै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन पनि होइन”, एनबीसी न्यूजसँगको केहीअघिको अन्तर्वार्तामा उहाँले भन्नुभयो ।

त्यस्तै अमेरिकी सिनेटमा शीर्ष डेमोक्र्याट रहेका चक शुमरले रुबियोसँगको कुराकानीप्रति प्रतिक्रिया दिँदै एउटा पूर्ण विज्ञप्ति जारी गर्नुभयो ।

“यद्यपि यो ब्रिफिङ धेरै बृहत् र लामो थियो, यसले पहिलेभन्दा धेरै प्रश्नहरू उब्जायो”, न्यू योर्कका सिनेटरले भन्नुभयो, “भेनेजुएलालाई अमेरिकाले चलाउने उनीहरूको योजना अस्पष्ट र असन्तोषजनक थियो।”

“मैले कुनै आश्वासन पाइनँ कि हामी अन्य देशहरूमा पनि यस्तै गर्ने प्रयास गर्दैनौँ भनेर। र निष्कर्षमा जब अमेरिका यस किसिमको सत्ता परिवर्तन र तथाकथित राष्ट्रनिर्माणमा संलग्न हुन्छ, यसले सधैँ अन्ततः अमेरिकालाई चोट नै पुर्‍याउँछ। यो फेरि हुनेछ भन्ने महसुस गर्दै ब्रिफिङ हुँदै गर्दा म त्यहाँबाट निस्किएँ।”

Share Now