Prakash Adhikari January 8, 2026

वासिङ्टन, २४पुस (रासस/क्यूएनए) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद मुद्दाहरूमा छलफल गर्न दुई पक्ष बिचमा फोन वार्ता भए पछि ह्वाइट हाउसमा कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोसँग भेटको व्यवस्था गरिएको घोषणा गर्नु भएको छ ।

ट्रपले सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै पेट्रोले आफुलाई दुई पक्षबीचको मतभेदको व्याख्या गर्न बोलाएको जनाउदै निकट भविष्यमा उहाँलाई भेट्न आफु उत्सुक रहेको बताउनु भएको छ ।

राष्ट्रपति ट्रम्पले विदेशमन्त्री मार्को रुबियो र कोलम्बियाका विदेश मन्त्री बीच छलफलको लागि आश्यक व्यवस्था भइरहेको उल्लेख गर्दै बैठक ह्वाइट हाउसमा हुने पुष्टि गर्नु भएको छ ।

यसैबीच, कोलम्बियाका मिडियाहरुले राष्ट्रपति पेट्रोलाई उद्धृत गर्दै उहाँले पहिलो पटक अमेरिकी राष्ट्रपतिसँग फोनमा कुरा गरेको र बोगोटा र वासिङ्टनबिच प्रत्यक्ष सञ्चार च्यानलहरू पुनः खोल्न आग्रह गरेको जनाएका छन् ।

पेट्रो–ट्रम्प टकराव  !
भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबीचको सम्बन्धलाई अभूतपूर्व तनावमा पु¥याएको छ ।
यस हस्तक्षेपलाई पेट्रोले ल्याटिन अमेरिकी सार्वभौमसत्तामाथिको ‘घृणित उल्लङ्घन’ भन्दै सन् १९३७ मा नाजी जर्मनीले स्पेनको गुएर्निकामा गरेको कार्पेट बमबारीसँग तुलना गर्नुभएको छ ।
अमेरिकाको ऐतिहासिक रूपमा निकट सहयोगी रहँदै आएको कोलम्बियाबाट यस्तो तीव्र प्रतिक्रिया आउनु असामान्य मानिएको छ । विगत तीन दशकदेखि लागुऔषध तस्करी नियन्त्रण, विद्रोही समूहविरुद्धको कारबाही र ग्रामीण विकासका क्षेत्रमा संयुक्त राज्य अमेरिका र कोलम्बियाबीच गहिरो सहकार्य हुँदै आएको छ । यही सहकार्यअन्तर्गत वासिङ्टनले कोलम्बियालाई अर्बौं डलरको सहायता प्रदान गरेको छ ।
तर राष्ट्रपति पेट्रोले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अमेरिकी नियन्त्रणलाई खुलेर विरोध गरेपछि उहाँ र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शब्दयुद्ध चर्कियो । ट्रम्पले कोलम्बियामा अमेरिकी सैन्य कारबाही ‘उचित हुन सक्ने’ टिप्पणी गरेपछि पेट्रोले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्न जनतालाई सडकमा उतार्न आह्वान गर्नुभयो । त्यसको प्रत्युत्तरमा हजारौँ कोलम्बियालीहरू सार्वजनिक चोकहरूमा भेला भई ‘स्वतन्त्र र सार्वभौम कोलम्बिया अमर रहोस्’ भन्ने नारा लगाए ।
तर सबैलाई चकित पार्दै विरोध प्रदर्शनकै दिन राष्ट्रपति पेट्रोले आफ्नो अघिल्लो कडा अभिव्यक्ति नरम पार्दै राष्ट्रपति ट्रम्पसँग भएको मैत्रीपूर्ण टेलिफोन वार्ताको जानकारी दिनुभयो । उहाँले दुवै सरकारबीच प्रत्यक्ष संवाद पुनःस्थापित गर्न आग्रह गरेको र संवाद नहुँदा द्वन्द्वको खतरा बढ्ने चेतावनी दिनुभएको बताउनुभयो ।
राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जालमार्फत पेट्रोसँगको कुराकानीलाई ‘सम्मानजनक’ भन्दै उहाँलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिनुभएको छ । लामो समयदेखि एक–अर्काप्रति कठोर टिप्पणी गर्दै आएका यी दुई नेताबीच अचानक देखिएको शान्तिले व्यावहारिक स्वार्थका लागि वैचारिक मतभेद पन्छाउन सक्ने सङ्केत दिएको विश्लेषकहरू बताउँछन् ।
कोलम्बियाका लागि अमेरिकी सहयोग अझै पनि विद्रोही र लागुऔषध तस्करविरुद्धको लडाइँमा अत्यन्त महत्त्वपूर्ण छ भने अमेरिकाका लागि कोलम्बिया क्यारिबियन क्षेत्रमा लागुऔषध रोकथामको प्रमुख आधार बनेको छ । वासिङ्टनस्थित थिङ्क ट्याङ्कका विज्ञहरूका अनुसार कोलम्बियाली कूटनीतिज्ञ र निजी क्षेत्रले पनि सम्बन्ध पूर्णरूपमा बिग्रन नदिन सक्रिय भूमिका खेलेका छन् ।
यसअघि राष्ट्रपति ट्रम्पले पेट्रोलाई ‘अन्तर्राष्ट्रिय लागुऔषध नेता’ भन्दै कडा शब्द प्रयोग गर्नुभएको थियो । कोलम्बियाली अधिकारीहरूको अमेरिकी भिसा रद्द गर्ने, आर्थिक सहायता रोक्ने र निर्यातमा दण्डात्मक शुल्क लगाउने धम्कीसमेत दिइएको थियो । यसले कोलम्बियामा अमेरिकी हस्तक्षेपको सम्भावनालाई लिएर गम्भीर चिन्ता बढाएको थियो ।
यद्यपि विज्ञहरू लोकतान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति पेट्रोविरुद्ध प्रत्यक्ष अमेरिकी सैन्य कारबाही हुने सम्भावनालाई कम आँक्छन् । त्यसबीच कोलम्बियाका रक्षा र कूटनीतिक अधिकारीहरूले सहकार्य जारी रहने सन्देश दिँदै तनाव कम गर्न प्रयास गरेका छन् ।
अन्ततः राष्ट्रपति पेट्रोले वार्तामार्फत शान्ति नै प्राथमिकता भएको स्पष्ट पार्दै नागरिकहरूलाई ढुक्क हुन आग्रह गर्नुभयो । हाल उहाँको सम्भावित ह्वाइट हाउस भ्रमणको तयारी अघि बढिरहेको छ, यद्यपि त्यसका लागि औपचारिक कूटनीतिक प्रक्रिया अझै पूरा हुन बाँकी छ ।
Share Now