Prakash Adhikari January 15, 2026

 

काठमाडौं, १ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीबाट बहिएर बाहिरिनुभएका पार्टीका केन्द्रीय पदाधिकारीसहित विभिन्न तहका नेता र कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्नुभएको छ ।

मध्यरातमा पार्टीको विवादित विशेष अधिवेशनले पार्टीका महामन्त्री गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गरेपछि आज दिउँसो १ः२९ बजे एक अपिल जारी गर्दै उहाँले सो आह्वान गर्नुभएको हो ।

उहाँले निर्वाचनको मुखमा पार्टी एकताबद्ध भएर निर्वाचन जित्ने लक्ष्य हासिल गर्नुको विकल्प नदेखिएको भन्दै हालदेखिएको विवाद र मतभेदलाई बिर्सेर पार्टीमा फर्किएर चुनावमा होमिन आग्रह गर्नुभएको हो ।

उहाँले प्रकाशित गर्नुभएको अपिल यसप्रकार छ :


साथीहरु,

कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न । हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।

यस विचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका वारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहाँसमा सुम्पन्छु ।

दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यस विच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।

कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको ईमान्दार प्रयास थियो । तर त्यसो हुन सकेन । यस कठिन घडीमा हामीले स्मरण गर्नुपर्ने हाम्रा महामानव श्रद्धेय नेता विपी कोइरालालाई हो ।

विपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो ।

विपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्‌छु ।

अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहाँसको गौरवलाई जोगाउने जिम्मेवारी छ । यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामी इतिहाँसले र हाम्रा अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ ।

यसको लागि सम्पुर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ । तसर्थ, साथीहरु कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरुले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहाँस छन, साझा नेता र शहिदहरु छन । हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ ।
हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपरेको छ । हाम्रा अग्रज नेताहरु र शहिद हुनुभएका साथीहरु हाम्रा प्रेरणाका स्रोत हुन ।

नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आम मतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन दिएका थिएनन् । आज एकपटक फेरी तपाई हामी हाम्रा सबै अग्रज नेताहरुको मार्ग दर्शनबाट र शहिदहरुको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घर दैलोमा भोट माग्न जानु परेको छ । समय छोटो छ, तर पनि यथासम्भव तपाईहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु ।

पार्टी भित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन् । म आह्वान गर्छू स् हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ । जय नेपाल ।

डा शेखर कोइराला
२०८२ माघ १


रूख  र पाठ को डुडल हुन सक्छ

Share Now