कुपण्डोल(ललितपुर), १ माघ । विशेष महाधिवेशनबाट निर्वाचत नेपाली कांग्रेस थापा समूहको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ ।
बिहीबार (माघ १ गते) ललितपुरको कुपण्डोलमा बसेको केन्द्रीय समितिको बैठकबाट शेरबहादुर देउवाको ठाउँमा नवनिर्वाचित सभापति गगन थापाको हस्ताक्षर राख्नेलगायत निर्णय गरेको छ ।
बैठकले सभापति थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गर्ने निर्णय गरेको छ भने उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ।
नवनिर्वाचित नेपाली कांग्रेस(थापा समूह)को प्रवक्तामा देवराज चालिसेलाई चयन गरिएको छ । बैठकले निर्वाचन आयोगमा आफूहरु मूलधार कांग्रेस भएको दावी गर्दै आवश्यक कागजात पेस गरिने निर्णय पनि गरेको छ ।
बैठकले देशभरबाट आएका महाधिवेशन प्रतिनिधि र सहयोगमा जुटेका नेता–कार्यकर्ता सबैलाई धन्यवाद दिने प्रस्ताव पारित गरिएको छ ।


















