Prakash Adhikari January 16, 2026

 

काठमाडौं, २ माघ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ मै चुनाव हुने र नेपाली कांग्रेसले बहुमत ल्याउने  बताउनुभएको छ ।

पार्टी कार्यालय सानेपामा आज अपरान्ह आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनाव हुने र पार्टीले बहुमत ल्याउने बताउनुभएको हो ।

‘चुनाव हुन्छ, हुन्छ । कांग्रेसले बहुमत ल्याउँछ’ कार्यबाहक सभापति खड्काले भन्नुभयो ।

कांग्रेसमा अहिले आधिकारिकताको विवाद चर्किएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कांग्रेस र १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कांग्रेस दुवैले निर्वाचन आयोग पुगेर आधिकारिकताको दाबी गरेका छन् ।

 महामन्त्रीद्वयले झुट बोले 

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका कार्यबाहक सभापति खड्काले महामन्त्रीहरूले झुट बोलेर सबैलाई दिग्भ्रमित बनाएको आरोप लगाउनुभयो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर  कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विखण्डन रोक्न नसकिएको बताए ।

उहाँले विशेष महाधिवेशनको औचित्य मङ्सिर १५ गते केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत नियमित महाधिवेशनको तालिका ल्याएपछि सकिएको बताउनुभयो । त्यो बैठकमा कार्यतालिकामा निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पनि सहमति रहेको बताउनुभयो ।

प्रतिनिधिसभाको निर्वाचन अघि बढिसकेको, राष्ट्रियसभाको उम्मेदवारी दर्ता भइसकेको समयमा पार्टीमा बखेडा झिकेर विशेष महाधिवेशन नामको भेला गरिएको भन्दै खड्काले आपत्ति जनाए ।  ‘विशेष महाधिवेशनको भेलाको नाममा काम अघि बढाएको जानकारी पाइयो । विशेष महाधिवेशन गर्ने भनेको पार्टीलाई विखण्डन पार्ने हो । जनताले पार्टीलाई गरिएको विश्वास र भरोसा टुट्छ भनियो,’ खड्काले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘उहाँहरूले उठाएका सबै कुरा सम्बोधन गर्ने गरी अघि बढाइयो । सभापतिले समेत बोलाएर छलफल गर्नुभयो । तपाईंहरूकै निर्णयले मेरो सही चल्यो । राष्ट्रिय सभाको उम्मेदवारको टिकटमा मैल सही गरेँ । प्रतिनिधिसभाको समानुपातिकको बन्द सूचीमा गरेँ । अहिले प्रत्यक्षको बेला आएको छ । टिकटमा हस्ताक्षर तपाईंले जसलाई भन्नुहुन्छ, उसलाई दिनुस् तर पार्टी विखण्डन रोक्नुस् भनेर ३० गते बिहान भन्नुभयो ।’

खडकाले अहिलेको अवस्था आउनुमा सभापतिलाई दोष दिनु सरासर झुट भएको बताउनुभयो । ‘उहाँहरूले जे जे कारणले सभापतिलाई दोष दिएर यो अवस्था आयो भन्नुभयो त्यो सारा कुरा झुटा हुन्, गलत हुन् । विशेष बोलाउने अधिकार उहाँहरूलाई विधानले दिएको छैन ।’

खड्काले नियमित र विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमिति र कार्यालयलाई मात्रै भएको बताउनुभयो।

‘कांग्रेसको नियमित र विशेष महाधिवेशन ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गर्न सक्छन् । तर, गर्ने नगर्ने निर्णय लिने अधिकार केन्द्रीय कार्यसमिति र कार्यालयलाई छ । सभापति, कार्यवाहक सभापति, महामन्त्री कसैलाई पनि छैन,’ खड्काले भने, ‘तसर्थ यो विशेष महाधिवेशनका नाममा गरिएको भेला हो ।

 

Share Now