Prakash Adhikari January 18, 2026

कीर्तिपुर(काठमाडौं), ४ माघ । आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोट अन्तरगत आज भएको उद्घाटन खेलमा नेपाल थाईल्याण्डसंग पराजित भएको छ ।

टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले सुरुमा राम्रै गरेको थियो । तर मध्यक्रम र पछिल्लो क्रमका व्याटर धराशायी हुँदा नेपालले रन स्कोर १ सय २२ मा खुम्चियो । यतिको रनलाई जोगाउन बलिड. कसिलो र फिल्डिड. उम्दो हुनुपर्ने थियो । तर त्यो कला देखाउन नसक्दा नेपालले नतिजा थाइल्याण्ड महिला टिमलाई सुम्पियो ।

नेपालले आइतबारको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको फराकिलो अन्तरले हार बेहोरेको छ। नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। यो जितसँगै थाइल्यान्डले दुई अंक पनि हात पारेको छ।

थाइल्यान्डको जितमा नथ्थकन चान्थमले अविजित रहँदै सर्वाधिक ५७ रन बनाइन्। ३९ बल खेलेकी उनले ७ चौका र १ छक्का प्रहार गरिन्। नान्नापत कोन्चारोएनकाईले ३२ रन बनाउँदा ओपनर आपिसारा सुवान्चोनरथीले २८ र कप्तान नारुमोल चाइवाई ३ रनको योगदान दिइन्।

थाइल्याण्डलाई रोक्न नेपालकी सीता रानामगरले २ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले २० रन दिइन्।अरु खेलाडीले विकेट लिन सकेनन् ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।

खेलमा नेपालकी ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। ५६ बल खेलेकी उनले ६ चौका प्रहार गरेकी थिइन्।

अर्की ओपनर सोनु खड्का २६ रनमा आउट हुँदा रुविना क्षेत्री बेलबासेले १७ र उपकप्तान पूजा महतोले १२ रनको योगदान दिइन्। अन्यले भने प्रभाव देखाउन सकेनन्।

नेपाललाई रोक्न थाइल्यान्डकी थिपाचा पुथावोङले सर्वाधिक ४ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले २७ रन खर्चिइन्। ओनिचा कामचोम्फुले २ विकेट लिँदा चानिदा सुथिरुआङ, सुलेपोर्न लाओमी र सुनीदा चतुरोङ्ग्राट्टानाले समान १ । १ विकेट लिए ।

Share Now