काठमाडौं, ४ माघ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले विधान विपरित बोलाइएको विशेष महाधिवेशनले निर्वाचन गरेको नेतृत्वलाई मान्यता दिएको भन्दै त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
दुईतिहाइ शक्ति पार्टीविहीन हुने जोखिम देखाउँदै देउवा पक्षले आजै सर्वोच्चमा रिट दर्ता गरे पनि आजै पेसी तोक्न सम्भव भएन। भोलि ल्होसार विदा परेकोले रिटमाथिको प्रारम्भिक सुनुवाई भने मंगलबार माघ ६ गतेमात्र हुने भएको छ । त्यही दिन फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि उम्मेद्वारको मनोनयन पत्र दाखिला गर्ने दिन परेको छ ।
सभापति देउवाका तर्फबाट पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएको हो। देउवा पक्षले रिटको पेसी आजै तोकेर सुनुवाइ गरिदिन आग्रह गरेको थियो। तर सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएपछि उहाँहरू दर्ता गरेर फर्कनुभएको छ ।
निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेसी चढाउन आग्रह गर्नुभएको थियो। तर सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव हुँदैन भन्ने जवाफ दियो।
सर्वोच्चले ६ गते अन्तरिम आदेश जारी गरेमा मात्र नेपाली कांग्रेसको देउवा पक्षका लागि राहत हुने छ भने जारी नगरेमा विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापा पक्षलाई राहत हुनेछ।


















