काठमाडौं, ४ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी फागुन २१ गतेको निर्वाचनमा भाग लिने तर त्यसको लागि निर्वाचन आयोगले उम्मेद्वारी दर्ताको मिति बढाउनु पर्ने बताउनुभएको छ ।
उहाँले आज बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित कार्यकर्ता तथा शुभचिन्तक भेलामा सो कुरा बताउनुभएको हो ।
आफ्नो नेतृत्वप्रति भरोसा राख्ने पार्टी कार्यकर्ताहरु र शुभचिन्तकहरलाई संबोधन गर्दै उहाँले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिडिरहेको छु । यसबाट विचलित हुन्न ।
नेता कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताउनुभयो ।
पार्टीको कठिन अवस्थामा डा. कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरि पार्टीलाई संकटबाट जोगाउनु पर्नेमा जोड दिनुभयो । छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औं महाधिवेशन अन्यौलता रहेको र त्यसको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए । साथै तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको धारणा राखेका थिए ।
नेता कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको बिकल्प नरहेको जानकारी दिनुभयो। उहाँले नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गर्नुभयो ।
डा. कोइरालाले सोही कार्यक्रममा निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी गराउनुभएको थियो । साथै, सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नु पर्नेमा हालसम्म त्यसको प्रत्याभूति नभएको बताउनुभयो
पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाइ अदालतको निर्णय मान्ने हुने समेत उहाँले बताउनुभयो ।
डा.कोइरालाले नेता तथा कार्यकर्तालाइ निर्वाचनसँगै १५ औं महाधिवेशन को तयारी गर्न र तयारीमा लाग्न निर्देशन दिनुभएको थियो ।
उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको जनाउनुभएको थियो ।


















