Prakash Adhikari January 18, 2026

काठमाडौँ, ५ माघ। नेपाली कांग्रेसमा तीन गुटकै सहमतिमा टिकट वितरण हुने संभावना बढेको छ । माघ २ मा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा निर्वाचित कार्यसमितिलाई आधिकारिक मान्यता दिए पनि चुनावी रणमैदानमा उत्रिएका विपक्षीहरुलाई परास्त गर्न विभाजित कांग्रेसले नसक्ने यथार्थलाई गगन,देउवा र शेखरको नेतृत्वमा रहेका गुट कांग्रेसले आत्मसात गरेकोले आइतबारदेखि नै टिकटको लागि मेलमिलापको नाटक सुरु भएको छ ।

धुम्बराहीस्थित एक होटलमा हिजो तीन गुटका नेताहरू राति अबेरसम्म वार्तामा सक्रिय रहेका थिए ।

विशेष महाधिवेशनपछिको संस्थापन पक्ष (सभापति गगन थापा समूह)का केन्द्रीय सदस्यहरू मधु आचार्य र देवराज चालिसे, पूर्वसभापति शेरबहादुर देउवा समूहबाट रमेश लेखक र नेता डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल एकै ठाउँमा भेला भएर छलफल गर्नुभएको बताइन्छ।

तीन गुटका नेताहरूबिचको छलफल सकिएपछि सोही होटलमा रहेका पार्टी सभापति गगन थापासँग पनि नेता लेखक र डा.रिजालले छुट्टै कुराकानी गरेको बताइएको छ ।

टिकट वितरणको गाँठो फुकाउन आज पनि वार्ता गर्ने तयारी नेताहरूको छ।

यसैबिच विशेष महाधिवेशनबाट निर्वाचित पार्टी सभापति गगनकुमार थापाले एक भिडियो सन्देश जारी गर्दै भन्नुभएको छ, तल्लो तहबाट सिफारिस भएर आएका नामहरुलाई सन्तुलित ढंगले नयाँ पुराना, समावेशी बनाएर टिकट वितरण गरिने जानकारी दिनुभएको छ ।

निर्वाचनको मुखमा पार्टी एकताबद्ध भएर जाओस् भन्ने मनशायले १४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पनि रुख र चारतारे झण्डा बेगरको कांग्रेस सोच्न पनि नसकिने कुरा सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छः


पार्टीका सबै अादर्णिय साथीहरु

सबैमा जयनेपाल 🙏💐
निर्बाचन अायाेगकाे निर्णयका बिरुद्धमा पार्टीको अाधिकारिकताकाे बैधानिक दाबि र कानुनि उपचारकाे लागि २०८२ माघ ३गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे केन्द्रीय कार्यसमितिकाे बैठककाे सर्बसम्मत निर्णय अनुसार सबैकाे तर्फबाट न्याय पाउने बिश्वासका साथ अाज हामी सर्बोच्च अदालत गएका हाै ! सर्बोच्च अदालतकाे निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ। रुख चुनाब चिन्ह बाहेक अन्यथा साेच्न र कल्पना पनि गर्न म सक्दिन🌳
नयाँ पार्टी खाेल्छन् ,स्वतन्त्र उमेदवारकाे रुपमा उठ्छन् , जस्ता बजारमा अाएका गलत हल्लाहरुकाे पछि नलाग्न पार्टीका सबै साथीहरू ,शुभेच्छुकहरु र हाम्रा अाम मतदाताहरुमा हार्दिक अनुराेध र अपिल गर्दछु🙏

१४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको अत्यन्त निकट मानिनुहुने र पार्टीको प्रचार विभागका प्रमुख रहनुभएका मिन विश्वकर्माले आइतबार साँझ सामाजिक सञ्जालमा एक लामो सन्देश लैख्दै यो निर्वाचनको समानुपातिक उम्मेद्वारमा पार्टी सभापति देउवाको हस्ताक्षरका नामहरु सर्वसम्मतिले गएजस्तै प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नामहरुको शिफारिस विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको हस्ताक्षरबाट जाने व्यवस्था हुनु र त्यसलाई स्वीकार गर्नु अहिलेको सर्वोत्तम उपाय हो भन्नुभएको छ ।

उहाँले भन्नुभएको छः-


आदरणीय नेताज्यू तथा साथीहरू
जय नेपाल !
हाल हाम्रो पार्टी मात्रै होईन, राष्ट्रवादी लोकतान्त्रिक राजननैतिक दलहरू संगै मुलूकको राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता गंभिर मोडमा छ !
यो अवस्थावाट मुलूकलाई जोगाऊने वलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्यौ ! सवैलाई आव्हान गर्यौ ! जसका कारण सवै दल निर्वाचनमा होमिएका छन !
तर मुलूकको पहिलो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेस भने नदुखेको टाउको आफै ठोक्दै रूदै गरिरहेको छ ! यो हाम्रा लागि मात्र होईन मुलूक र लोकतान्त्रिक प्रणालीका लागि दुर्भाग्य हो !
पार्टीको नियमित महाधिवेशन हुदै थियो ! विशेष किन गर्नु परेको ? विशेष गर्ने नै भए पार्टीले निर्णय किन नगरेको ? जवर्जस्ती आयोजना हुन लाग्दा पार्टीले अपनत्व र वैधानिकता दिन किन नमानेको ? नीति महाधिवेशन मात्र हो भनेर फेरि नेतृत्व भंग र चयनमा किन प्रवेश गरेको ? आदी ईत्यादी यस्तै विषयले कांग्रेस अहिले विवादै विवादले थलिएर उड्नु पर्ने दौडन सकेको छैन ! दौडन पर्ने हिड्न सकेको छैन ! हिड्न पर्ने घस्रन सकेको छैन !
विशेष महाधिवेशनको प्रक्रिया, निर्वाचन आयोगको भूमिका र अदालतको निष्क्रियता संग मेरो पनि विमति छ ! यसका वारेमा आयोग र अदालतमा हाम्रा विमतिहरू दर्ज भएर विचाराधिन छन !
तर प्रक्रियमा काफि विमतिका वाव्जुत पनि फागुन २१ को निर्वाचनको परिणामलाई मध्यनजर गरि हाम्रा विचमा ऐतिहासिक सहमति र एकता हुनु अपरिहार्य छ !
यसका लागि न विशेष महाधिवेशनवाट सर्वसम्मत निर्वाचित सभापति गगन थापाको एकल निर्णय, नत चौधौ महाधिवेशन
वाट निर्वाचित सभापति देउवाको एकल निर्णयवाट आसन्न निर्वाचनमा पार्टीले विजय हासिल गर्न सक्छ ! केवल सवैको साझा सहमति प्रयास र उम्मेदवारले मात्र राम्रो परिणाम दिन सक्छ !
तसर्थ विवाद अव आयोग मात्रै होईन अदालत पुगिसक्यो ! अव झगडा अदालतमा छौडौ ! परिणाम जे आउछ मान्न तयार वनौ !
हिजो भाद्र २४ मा घर छोड्न तयार भयौ ज्यानका लागि
आज घमण्ड त्यागन तयार वनौ पार्टीका लागि !
झगडिया अरू कोही होईन हामी एकाघरका हौ !
हिजो भाद्र २४ को ऊपचार फागुन २१ को निर्वाचन हुन सक्छ भने जस्तै हाम्रो झगडाको मिलन पनि यही निर्वाचनले गराऊन सक्छ !
हिजो उम्मेदवारको टिकटमा कस्को हस्ताक्षर हुने भन्ने विवाद थियो ! आधामा देउवाले गर्नु भयो ! वांकीमा अव गगनले गर्नु हुन्छ ! सवैको सहमतिमा ऊम्मेद्वार चयन गरौ ! उत्साहका साथ निर्वाचनमा कांग्रेसी उम्मेद्वारको पक्षमा भोट माग्ने वातावरण वनाऔ ! यसका लागि देउवा , गगन, पूर्णवहादुर, शेखर एकठाउमा अहिलै वस्नुस ! घेरावन्दीवाट वाहिर आउनुहोस र निर्णय गर्नुहोस !
त्यसैले वीपी, सूवर्ण, गणेशमान, किसूनजीले वनाएको, गिरीजा प्रसाद, सुशील र शेरवहादुरले हांकेको ऐतिहासिक पार्टी नेपाली कांग्रेसका साथीहरूले उत्साह, उमंग र एकताका साथ भन्नेछन;
“ हिजो पनि रूख, आज पनि रूख, भोली पनि रूख”
भोट के मा रूखमा ! नेपाली कांग्रेस जिन्दावाद !!
जयनेपाल !!!!!


कांग्रेसभित्रका मध्यमार्गी भनेर चिनिनुहुने डा.शेखर कोइरालाले नेपाली कांग्रेस चारतारे झण्डाको मुनि रुख चिन्ह लिएर निर्वाचनमा एकताबद्ध भएर जाने बताइसक्नुभएको छ । उहाँले शनिवार र आइतबार आफ्ना पक्षका केन्द्रीय सदस्यहरु, जिल्ला सभापति र पूर्वसांसद एवम् प्रदेश सांसदसहित शुभेच्छुकहरुको भेला गरेर निर्वाचनमा जाने संकेत दिइसक्नुभएको छ ।

Share Now