काठमाडौँ, ५ माघ । उम्मेदवार सिफारिस नभएपछि नेपाली कम्युनिस्ट पार्टीका १२ जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
पार्टी एकता हुँदा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट १२ जना केन्द्रीय सदस्य जोडिनुभएको थियो । संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उहाँहरूले राष्ट्रियसभा, समानुपातिक र प्रत्यक्षतर्फ एक जना पनि छनोट नभएकोमा अपमानित महसुस भएको जानकारी दिनुभएको छ ।
‘छोटो समय भए पनि हजुरको पार्टी र हजुरको जम्बो केन्द्रीय समितिमा रहेर काम गर्न मौका दिनुभएकोमा धन्यवाद । हामी वामदेव गौतमको एकता राष्ट्रिय अभियानबाट यस पार्टीमा १२ जना केन्द्रीय सदस्य जोडिएका थियौँ । अभियानबाट आएका साथीहरूमध्ये राष्ट्रियसभा, समानुपातिक तथा प्रत्यक्षतर्फ १ जना पनि छनौट हुन नसकेकोले हामी सबै जना असक्षम भएको महसुस भएकाले नैतिकताको आधारमा यस पार्टीमा रहिरहनु उपयुक्त नभएकाले हामीले सामूहिक राजीनामा दिई स्वतन्त्र बस्ने निर्णय गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।
राजीनामा दिनेमा विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता लगायत १२ जना केन्द्रीय सदस्य हुनुहुन्छ ।


















