Prakash Adhikari January 19, 2026

 

काठमाडौं, ६ माघ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने हुनुभएको छ । देउवाको निजी सचिवालयले उहाँ उमेदवार नबन्ने जानकारी गराएको हो।

‘शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नहुने जानकारी गराउँछु,’ देउवाका स्वकीय सचिव भानु देउवाले भनेका छन्।

२०४८ सालदेखि डडेल्धुराबाट उम्मेदवार बन्दै आउनुभएका र सधैं जित्दै आउनुभएका देउवालाई अब निर्वाचन नलड्न विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अनुरोध गर्नुभएको थियो ।

तर, देउवाले भने अन्तिम पटक चुनाव लड्ने बताउनुभएको थियो। नयाँ कार्यसमिति अमान्य भन्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ। उम्मेदवारी दर्ता हुनु अघि देउवाले उम्मेदवार नहुने बताउनुभएको छ ।

यसैबीच नेपाली कांग्रेसले निवर्तमान केन्द्रीय सदस्य डा.आरजु राणालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार नबनाउने भएको छ।

कैलाली क्षेत्र नम्बर ५ बाट डा।राणाको नाम सिफारिस भएको थियो । कांग्रेसले कैलाली ५ मा नरनारायण शाहलाई उम्मेदवार बनाएको छ।

कांग्रेसले कैलाली ५ बाट शाहसहित डा.आरजु राणा, डिल्लीराम पन्त र नृपबहादुर ओडको नाम सिफारिस भएर आएको थियो।

सभापति गगनकुमार थापाले सबै उम्मेदवारलाई थाति राखेर शाहलाई टिकट दिनुभएको छ ।

Share Now