Prakash Adhikari January 22, 2026

काठमाडौं, ८ माघ । साताको अन्तिम कारोबार दिन नेपालको शेयर बजार उकालो लागेर बन्द भएको छ ।

बिहीबार नेपालको धितोपत्र बजार परिसूचक ९.२३ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको छ।

यस दिन ३ सय ३२ स्टकको १ करोड ९० लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री बाट ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एसवाई प्यानल नेपाल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री त्रिशुली जलविद्युत कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशत बढेको छ। यस दिन झापा इनर्जी, बन्दिपुर केबलकार, श्री इन्भेष्टमेण्ट फाइनान्स र टे्रेड टावर लिमिटेडको शेयर मूल्य पनि ७.५ प्रतिशतबढिले बढेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा यस दिन अधिक मूल्य घट्ने कम्पनीहरुमा कालिका पावर, सानिमा ग्रोथ फण्ड, फस्र्ट माइक्रोफाइनान्स, मैलुड.खोला जलविद्युत कम्पनी,गोर्खा फाइनान्स, कुमारी इक्विटी फण्ड, बोटलर्स नेपाल लिमिटेड, एनआईबीएल डिबेञ्चर २०८२ ,सिटिजन्स म्युचुअल फण्ड र तारागाउँ रिजेन्सी होटल रहेका छन् ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन मञ्जुश्री फाइनान्सको करिब ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानल नेपालको करिब ३३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ। यस्तै बन्दीपुरको २८ करोडमाथि, श्रीनगर एग्रिटेक इन्ड्रष्ट्रिको २४ करोड र सान्भी इनर्जीको १८ करोड माथिको कारोबार भएको छ। युनाइटेड मोदी, एनआरएन, लिवर्टी इनर्जी र प्योर इनर्जीको १७ करोडभन्दा बढी रुपैयाको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २।३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।१५ प्रतिशत घटेको छ।

Share Now