Prakash Adhikari January 31, 2026

पोखरा(कास्की),१७ माघ ।  छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल संघले जितेको छ ।

शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै गण्डकी प्रदेश च्याम्पियन बनेको हो ।

पहिलो सेट २३-२५ ले पुलिसलाई सुम्पिएको गण्डकीले त्यसपछि लगातार तीन सेटमा जित हात पारेको हो । दोस्रो सेटमा २८-२६ को जित निकालेको गण्डकीले तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जितेको हो ।

प्रतियोगितामा पर्वत जिल्ला भलिबल संघ तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा पर्वतले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको हो ।

पर्वत भलिबलले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको हो ।

च्याम्पियनसिपमा विजेता गण्डकीले ६ लाख ६६ हजार ६६६ र उपविजेता पुलिस क्लबले ३ लाख ६६ हजार ६६६ पाएको छ । तेस्रो बनेको पर्वतले २ लाख ६ हजार ६६६ रुपैयाँ पाएको छ ।

यसअघि शुक्रबार भएको महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए

Share Now