कोलम्बो(श्रीलंका), २४ माघ(एजेन्सी) । पाकिस्तानले सीसी पुरुष टी २० विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ।
श्रीलंकामा भएको पहिलो खेलमा दबाबकाबीच पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गरेको छ।
कोलम्बोस्थित सिन्हालीज स्पोर्ट्स क्लब (एसएससी) मैदानमा १ सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९=३ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
ओपनरको आक्रामक सुरुवात
पाकिस्तानका ओपनर साइम अयुब र साहिबजादा फरहानले इनिङ्सको राम्रो सुरुवात गरे। साइमले १३ बलमा ४ चौका र १ छक्कासहित २४ रनको आक्रामक इनिङ खेले । तर स्पिनर आर्यन डटको बलमा आउट भए।
त्यसपछि फरहानले कप्तान सलमान अली आघासँग मिलेर पाँचौं ओभरभित्र ५० रनको साझेदारी गरे। तर डटले सलमानलाई ८ बलमा १२ रनमै आउट गरेपछि पाकिस्तान ४.५ ओभरमा ५३–२ को स्थितिमा पुगेको थियो।
फरहानले धैर्यतापूर्वक इनिङ्स सम्हालिरहे भने बाबर आजमले सुरुआतमा संघर्ष गरे। तर पछि लय समात्दै फरहान अर्धशतक नजिक पुगे। फरहानले ३१ बलमा ४ चौका र २ छक्कासहित ४७ रन बनाएर रूएलफ भान डर मर्वेको बलमा आउट भए। त्यसबेला पाकिस्तान ११.१ ओभरमा ९८-३ को स्थितिमा थियो।
त्यही ओभरमा भान डर मर्वेले उस्मान खानलाई शून्य रनमा आउट गर्दै नेदरल्यान्ड्सलाई खेलमा फर्काए। बाबर १५ बलमा आउट भए।
अन्त्यतिर फहिम–शाहिनको कमाल
पाकिस्तानले त्यसपछि केही विकेट सस्तोमा गुमायो। मोहम्मद नवाज (६) र शादाब खान (८) आउट भएपछि दबाब बढेको थियो। तर फहिम अशरफ र शाहिन शाह अफ्रिदीले इनिङ्स सम्हाल्दै टोलीलाई जिततर्फ डोर्याए।
फहिमले लगातार २ छक्का प्रहार गर्दै खेलको गति बदलिदिए। उनले ११ बलमा २ चौका र ३ छक्कासहित अविजित २९ रनको शानदार इनिङ खेलेर पाकिस्तानलाई स्मरणीय जित दिलाए।
पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले माइकल लेभिट र म्याक्स ओ’डाउडमार्फत आक्रामक सुरुवात गर्यो। तर चौथो ओभरमा सलमान मिर्जाले ओ’डाउडलाई ७ बलमा ५ रनमै आउट गरे।
पाँचौं ओभरमा मोहम्मद नवाजले उत्कृष्ट फर्ममा रहेका लेभिटलाई १५ बलमा २४ रनमा आउट गरे। त्यो विकेटमा बाबर आजमले बाउन्ड्री नजिक उत्कृष्ट फिल्डिङ गर्दै शाहिन अफ्रिदीलाई क्याच गराए।
बस डे लिडे र कोलिन एकरम्यानले इनिङ्स सम्हाल्दै पावरप्लेभित्र ५० रन पार गराए। तर आठौं ओभरमा अब्रार अहमदले एकरम्यानलाई १४ बलमा २० रनमा आउट गरेपछि नेदरल्यान्ड्स ६५–३ मा सीमित भयो।
नेदरल्यान्ड्सले १३औं ओभरमा १ सय रन पार गर्यो।
कप्तान स्कट एडवर्ड्सले २९ बलमा ३७ रन बनाए। तर अब्रारको बलमा आउट भए। त्यसपछि साइम अयुबले लगातार २ विकेट लिँदै नेदरल्यान्ड्सलाई १२९–७ मा पुर्याए।
अन्त्यतिर शाहिन अफ्रिदी र सलमान मिर्जाले विकेट थप्दै नेदरल्यान्ड्सलाई २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रनमै समेटियो।
पाकिस्तानका लागि सलमान मिर्जाले ३.५ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। मोहम्मद नवाज, अब्रार अहमद र साइम अयुबले समान दुई–दुई विकेट लिए भने शाहिन अफ्रिदीले १ विकेट लिए।
विश्व कपको पहिलो दिन आज अरु २ खेल हुनेछन्। आज नेपाल रहेको समूह सीमा वेस्ट इन्डिज र स्कटल्यान्डबीचको खेल दिउँसो ३M१५ मा सुरु हुनेछ। आज अर्को खेल भारत र अमेरिकाबीच हुनेछ।


















