काठमाडौँ, २४ माघः सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँलाई मधेस बुझाउन सर्लाहीबाट उम्मेदवारी दिएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै विभिन्न व्यापार, व्यवसाय तथा पेसामा संलग्न रहनुभएका सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा सभापति थापाले मधेस र काठमाडौँलाई जोड्न आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मेरो परिवार पहाडबाट काठमाडौँ आउनुभयो, मैले आमाबाट पहाड बुझेँ । म काठमाडौँमा हुर्किएकाले सहर बुझेँ । अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेसलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेस आएको हुँ । म जस्तै काठमाडौँले मधेसलाई सतही रूपमा चिनेको छ, म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेसको महत्व बुझाउने छु ।” आगामी पाँच वर्षमा मधेसको समग्र विकासमा योजनाबद्ध काम गरेर आमनागरिकको दैनिकीमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
“सर्लाही–४ मा मेरो शिक्षा, स्वास्थ्य, प्रविधि, कृषिलगायत टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ, आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु । जसरी अहिले मलाई काठमाडौँ–४ का बासिन्दाले यहीँ चुनाव लड्नुस् भनेर आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु”, सभापति थापाले भन्नुभयो । उहाँले आफ्नो ज्ञान र नेटवर्कको प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले विस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्याउन आग्रह
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्याउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको सदस्य भेलालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार कांग्रेस बदलिएकाले उक्त सन्देश घरघरसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
सभापति थापाले गत भदौ २३ र २४ को आन्दोलनबाट पाठ लिएर कांग्रेस सच्चिएको भन्दै पार्टी अब देश बदल्ने अभियानमा लागेको सन्देश गाउँ र घरघरसम्म पुर्याउनुपर्ने धारणा राख्नुभयो । “कांग्रेस बदलिएको सन्देश तलसम्म पुगेको छैन, यो सन्देश घरघरमा पुर्याउनुपर्छ । अघिल्लो निर्वाचनमा कांग्रेसलाई मत हालेका २७ लाख मतदाता माझ जानुपर्छ”, उहाँले भन्नुभयो । अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस भएर आएको उहाँको भनाइ छ ।
सभापति थापाले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात् गर्नका लागि कांग्रेसले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको उल्लेख गर्नुभयो । उहाँले विशेष महाधिवेशनमा कसैले जितेको र हारको नभई पार्टीले जितेको बताउनुभयो । “सबै पक्षलाई मात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेस हो । मुलुकमा देखिएको भागबण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जानेछ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने बताउनुभयो । उहाँले भदौ २३ र २४ को आन्दोलनले आफूहरूलाई पनि खबरदारी गरेको भन्दै कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रुपान्तरणमार्फत पार्टी निर्वाचनमा होमिएको उल्लेख गर्नुभयो ।
महामन्त्री पौडेलले जन्मको आधारमा पुरानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरु पार्टी नभएको बताउनुभयो । समाजको चाहनाअनुसार नयाँ ढङ्गबाट पार्टी अघि बढिरहेको उहाँको भनाइ छ । जनताले चाहेजस्तो नेतृत्व कांग्रेसले ल्याएको भन्दै उक्त नेतृत्वले देश बदल्ने अठोट लिएको उहाँले बताउनुभयो ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ५ का सभापति एवं प्रदेश सांसद श्यामबहादुर खड्काले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि पार्टीका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नयाँ नेतृत्वसहित आएको पार्टीले देशको विकास गर्ने उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा काठमाडौँ क्षेत्र नं ५ को निर्वाचन परिचालनका लागि ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।