Prakash Adhikari February 7, 2026

मुम्बई(भारत), २४ माघ । आईसीसी टी २० पुरुष विश्वकपको १० औं संस्करणको सहआयोजक राष्ट्र भारतले विश्वकपमा सुखद् विजयी सुरुआत गरेको छ ।

मुम्बईको वानखडे अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कप्तान सूर्यकुमार यादवको अर्धशतक र त्यसपछि आएको सामूहिक बलिङ प्रदर्शनमा भारतले प्रतिस्पर्धी अमेरिकी टिमलाई २९ रनले पराजित गरेको हो।

.विश्वकपको पहिलो दिन शनिवार भएको तेस्रो खेलमा १ सय ६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो।

चौथो विकेटका लागि मिलिन्द कुमार र सञ्जय कृष्णमूर्तिबीच बनेको ५८ रनको साझेदारीले केही आशा जगाए पनि त्यो पर्याप्त हुन सकेन।

पावर प्लेमा ३.२ ओभरमै १३ रनमा ३ विकेट गुमाएर संकटमा परेको अमेरिकालाई कुमार र कृष्णमूर्तिले सम्हाल्ने प्रयास गरे। मोहम्मद सिराज र अर्शदीप सिंहले यूएसएको शीर्षक्रम ध्वस्त पारेपछि यी दुईले इनिङ्स पुनः लयमा ल्याउने कोसिस गरेका थिए।

तर १२औँ ओभरमा वरुण चक्रवर्तीले ३४ रन बनाएका मिलिन्द कुमारलाई आउट गर्दै उक्त महत्वपूर्ण साझेदारी तोडे। त्यसपछि कृष्णमूर्ति र शुभम रञ्जानेबीच पाँचौँ विकेटका लागि २७ रनको छोटो साझेदारी भयो।

कृष्णमूर्ति ३१ बलमा २ छक्का र १ छक्कासहित‌३७ रन बनाएर अक्षर पटेलको बलमा आउट भए। उनको विकेटपछि अमेरिकाले तीव्र गतिमा थप २ विकेट गुमायो। यद्यपि रञ्जानेले अन्तिम बलसम्म संघर्ष जारी राखे ।तर अन्तिम बलमा उनी सिराजको बलमा एलबिडब्ल्यू आउट भए।

सिराजले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदै भारतीय बलिङ आक्रमणको नेतृत्व गरे। रञ्जाने अमेरिकाका सर्वाधिक लागि सर्वाधिक रन बनाए । उनले २२ बलमा ३७ रन बनाउँदा ३ छक्का र २ चौका प्रहार गरे।

भारतका लागि सिराजसँगै अर्शदीप सिंह र अक्षर पटेलले समान २ विकेट लिए भने चक्रवर्तीले १ विकेट हात पारे।

त्यसअघि, अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि भारतलाई २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६१ रनमा सीमित गर्न अमेरिका सफल भएको थियो।

भारतको सुरुआत निकै कमजोर रह्यो। शीर्षक्रमका अभिषेक शर्मा १.२ ओभरमै खाता नखोली आउट हुँदा स्कोर ८।१ पुगेको थियो। त्यसपछि तिलक वर्मा (२५) र ईशान किशन (२०) ले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे।

तर शाडली भान स्काल्कवाइकले एउटै ओभरमा तिलक, किशन र शिवम दुबे (०) लाई आउट गर्दै भारतलाई ४६।४ को संकटमा पुर्‍याए।

त्यसपछि कप्तान सूर्यकुमारले भारतको ब्याटिङ सम्हाल्दै एक्लै टोली अघि बढाए। यद्यपि रिंकु सिंह र हार्दिक पाण्ड्या सस्तोमा आउट हुँदा भारत दबाबमा नै रह्यो।
सातौँ विकेटका लागि सूर्यकुमार र अक्षर पटेलबीच बनेको ४१ रनको साझेदारी निर्णायक बन्यो।

सूर्यकुमारले साझेदारीमा प्रभुत्व जमाउँदा अक्षरले ११ बलमा १४ रन जोडे, तर १७औँ ओभरमा मोहम्मद मोहसिनको बलमा आउट भए।

अक्षर आउट भएपछि पनि सूर्यकुमार अडिग रहे । उनले ४९ बलमा अविजित ८४ रन बनाए। उनको इनिङ्समा १० चौका र ४ छक्का समावेश थिए।

अमेरिकाका लागि शाडली भान स्काल्कवाइक सर्वोत्कृष्ट बलर रहे। उनले ४ ओभरमा २५ रन मात्र खर्चेर ४ विकेट लिए। हरमीत सिंहले २ तथा मोहम्मद मोहसिन र अली खानले समान १ विकेट लिए।

Share Now