Prakash Adhikari February 10, 2026

कञ्चनपुर/ उदयपुर, २७ माघ ः, २७ माघ ः कञ्चनपुरमा र उदयपुरमा आजदेखि पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच हजार ६७८ जना छात्रा तथा किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य लिएको छ । आजदेखि फागुन १ गतेसम्मका लागि जिल्लामा खोप अभियन सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार यस वर्षको अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेरका किशोरीलाई खोप लगाइँदैछ । गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई समेत खोप लगाइने उहाँले जानकारी दिनुभयो ।

“प्रत्येक विद्यालयमा खोप केन्द्र निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ”, अधिकृत कुँवरले भन्नुभयो, “विद्यालयमा खोप लगाउन छुटेका वा विद्यालय बाहिर रहेका किशोरीका लागि फागुन १ गते नजिकैको स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था मिलाइएको छ ।”

खोप अभियान सञ्चालनका लागि जिल्लाका नौवटै स्थानीय तहमा विद्यालय र स्वास्थ्य संस्था गरी जम्मा ४६५ खोप केन्द्र निर्धारण गरिएको छ । तीमध्ये ३६२ वटा विद्यालय र १०३ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र निर्धारण गरिएको छ । भीमदत्त नगरपालिकामा सबैभन्दा बढी एक हजार ३९०, कृष्णपुर नगरपालिकामा ८४३, पुनर्वास नगरपालिकामा ७४३, बेदकोट नगरपालिकामा ६०६, शुक्लाफाँटा नगरपालिकामा ५४७ जना किशोरीलाई खोप लगाउने कार्यक्रम छ ।

त्यसैगरी, बेलौरी नगरपालिकामा ५६१, दोधारा चाँदनी नगरपालिकामा ५१०, लालझाडी गाउँपालिकामा २५० र बेलडाँडी गाउँपालिकामा २२८ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको अधिकृत कुँवरले जनाकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा हुने क्यान्सरमध्ये उच्च जोखिमयुक्त रोग हो । नेपालमा पनि महिलामा देखिने क्यान्सरमध्ये यो पहिलो स्थानमा रहेको र यसको प्रमुख कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) रहेको अध्ययनहरूले देखाएका छन् । स्वास्थ्यकर्मीका अनुसार किशोरी अवस्थामै एचपिभी खोप लगाउनु क्यान्सर रोकथामका लागि सबैभन्दा प्रभावकारी उपाय हो । प्रारम्भिक चरणमा लक्षण नदेखिने भएकाले ३० वर्ष पूरा भएका महिलाले नियमित रूपमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ) गराउनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

खोप अभियान सञ्चालनका लागि प्रत्येक खोप केन्द्रमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई परिचालन गरिएको छ । सबै खोप केन्द्रमा खोपसहित आवश्यक सामग्री पुर्याइसकिएको कोल्डचेन अधिकृत कुँवरले जानकारी दिनुभयो । खोप लगाउने लक्षित समूह कोही पनि नछुटुन् भनेर विशेष सावधानी अपनाइएको उहाँको भनाइ छ । सरकारले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत देशभर किशोरीलक्षित एचपिभी खोप अभियान सञ्चालन गर्दै आएको छ ।

उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि उदयपुरमा ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका आठ पालिकामा कक्षा ६ मा अध्ययनरत ११ देखि १४ वर्ष उमेरका चार हजार ४३८ बालिकालाई एचपिभी खोप दिन सुरुआत गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबारदेखि जिल्लाका ती पालिकामा नै खोप सञ्चालन गरिएको र यही फागुन २९ गते खोप कार्यक्रम सम्पन्न गरिने छ । यसभन्दा अघिल्ला वर्षहरूमा यहाँका १८ हजार बालिकामा एचपिपी खोप दिने कार्य सम्पन्न भइसकेको र यसपटक यसपटक नियमित र विगतका वर्षहरूमा छुटेका गरी चार हजार ४३८ बालिकालाई खोप लगाउने लक्ष्य राखिएको खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताउनुभयो ।

यसका लागि जिल्लामा प्रत्येक सरकारी तथा निजी विद्यालयमा ३९४ खोप केन्द्र स्थापना गरेर ३६४ स्वास्थ्यकर्मी र ३९४ स्वयंसेवक परिचालन गरिएको छ । भविष्यमा हुने पाठेघर र स्तन क्यान्सरबाट बच्न बालिकाहरूलाई खोपले सहयोग गर्ने जनाइएको छ ।
–––

Share Now