Prakash Adhikari February 12, 2026

मुम्बई(महाराष्ट्र,भारत), २९ माघ । पहिलो पटक आईसीसी टी २० विश्वकपमा डेब्यु गरेको इटालीलाई ठूलो अन्तरले पराजित गर्ने मनशाय बोकेर मैदानमा उत्रिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मुम्बईको वानखेडे अन्तराष्ट्रिय क्रिकेट रंगशालामा उल्टो नतिजा निकालेको छ । नेपालको आईसीसी विश्वकप इतिहासमा यो निकै निराशा, पट्टयार लाग्दो र बिर्सनलायक प्रदर्शन हुनगयो ।

पहिलो पटक विश्वकप खेलिरहेको इटालीसँग आज नेपाल १० विकेटले पराजित हुनपुग्यो। पहिलो खेलमा इङ्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको नेपाल टोलीले आज समर्थकलाई निराश मात्र बनाएन,आफ्नो क्षमता र छविमा पनि प्रश्न उठ्ने ठाउँ सिर्जना गर्यो।

यो हारले नेपालको सुपर एटको सम्भावना कमजोर बनाएको छ।

टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालको ब्याटिड. जम्न सकेन । सबै खेलाडीले एउटै गल्ति दोहोर्याउदै जाँदा नेपालले दिएको जम्मा १ सय २४ रनको लक्ष्य इटालीले १२.४ ओभरमा विना विकेटको नोक्सानीमा हासिल गर्यो। इटाली क्रिकेटका उम्दा खेलाडी मोस्का दाजुभाइ एन्थोनी र जस्टिनले शतकीय साझेदारी गर्दै नेपाललाई हराए।

एन्थोनी ३२ बलमा ६२ र जस्टिनले ४४ बलमा ६० रनमा नटआउट रहे। नेपाली टोलीले पहिलो पटक विश्वकप खेलेको इटालीसँग पूरा २० ओभर ब्याटिङ गर्न सकेन ।

नेपाल १९.३ ओभरमा १ सय २३ रन‌ बनाउँदै अलआउट हुन गयो।

मुम्बईको वानखेडे स्टेडियममा त्यसअघि इटालीले टस जितेर फिल्डिङ रोेजपछि ब्याटिङ गरेको नेपाली टोली सुरुबाट नै धर्मरायो।

४० रन‌माथिको मात्र दुई वटा साझेदारी बन्न सक्यो ।

आरिफ शेखको २७ रन नै नेपाली खेलाडीको सर्वाधिक रन रह्यो। उनले २४ बलमा ३ चौका सहयोगमा २७ रन बनाउँदा जेजे स्मुथको बलमा क्याच आउट भए। करण केसी १८ रनमा अविजित रहे।

१८ बलमा १७ रन बनाएका दिपेन्द्र सिंह ऐरी क्रिसन कालुगामागेको बलमा बोल्ड आउट भए। २० बलमा २ चौका सहयोगमा २० रन बनाएका ओपनर आशिफ शेख ७.२ ओभरमा वाट मानेन्तीको बलमा विकेटकिपरबाट आउट भए।

सातौँ ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल २३ रनमा क्याच आउट भए। १४ बलमा २ छक्का प्रहार गरेका कप्तान रोहित क्रिसन कालुगामागेको बलमा ग्रान्ट स्टेवार्टको हातबाट क्याच आउट नै भए।

दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल ५ रन बनाउँदै आउट भए। १० बलमा एक चौका हानेका कुशल अली हसनको बलमा जस्टीन मोस्काको हातबाट क्याच आउट हुन पुगे। सन्दीप लामिछाने ५ ,लोकेश बम र गुलशन झा समान ३ रन बनाए। नन्दन यादव र ललित राजवंशी शून्य रनमा रनआउट भए।

नेपाली राष्ट्रिय क्रिकेट टिममा खेलाडी र प्रशिक्षकहरुले एउटै गल्ति बारम्बार दोहोर्याउदै आएका छन् । जब फिल्डिड.मा अग्ला खेलाडी उत्रिन्छन्, होचा खेलाडीले आकाशमा फालेको बल उफ्रेर टिप्न तिनलाई सजिलो हुन्छ । तर अग्लो मान्छे भुइँमा निहुँरिन असजिलो हुन्छ । इटालीका अग्ला खेलाडी फिल्डिड.मा उत्रिएको बेला नेपाली ब्याटसम्यानहरुले कमजोर ठानेर छक्का प्रहार गर्ने कोशिश गरे । दर्शक दीर्घामा पुग्ने गरी हैन, जम्माजम्मी बाउण्ड्री कटनसक्ने गरी नेपाली खेलाडीहरुले प्रहार गरेका बलहरु इटालीका अग्ला खेलाडीहरुले च्याप्प च्याप्प समाते । कुशल भूर्तेलको पहिलो विकेटले छक्का प्रहारको प्रयास नगर्न संकेत गरेको थियो । तर हातमा ब्याट लिएका नेपालका हरेक खेलाडीले इटालीलाई कम आँकलन गरेर छक्का नै हिर्काएर हराउने अठोट लिए । प्रतिस्पर्धीलाई कमजोर आँक्दा आफू नै लज्जास्पद पराजय भोग्नुपर्ने स्थितिमा पुग्यो नेपाल ।

नेपालका प्रशिक्षक र कप्तानले शुरुमा नै गरेका अर्को ठूलो गल्ती थियो, पहिलो खेलमा महंगो परेका र कमजोर प्रदर्शन गरेका करन केसीलाई खेल्ने एघारमा समेट्नु, त्यतिकै महत्वपूर्ण सोमपाल कामीलाई बेञ्चमा राख्नु । पहिलो डेब्यु खेलको पहिलो बलमा नै विकेट निकाल्ने शेर मल्ललाई अर्को खेलका लागि जोगाउनु । सायद करणको स्थानमा सोमपाल र ललितको स्थानमा शेर मल्ल भएको भए नतिजा फरक पर्न सक्थ्यो । करण के.सी. मैदानमा उत्रिदा सुरु बलदेखि नै निराश र भयग्रस्त, विकेट निकाल्न सक्दिन कि भन्ने संकोचले ग्रसित देखिन्थे ।

नेपालले विश्वकपमा जित्न सक्ने एक खेल नराम्रोसंग गुमाएको छ । यो कमजोरी आउने खेलहरुमा पुनरावृत्ति नहोस् । उच्चस्तरको प्रदर्शनबाट नेपालको शान र आफ्नो मान बढाउन सकोस् । यो हारप्रति सहानुभूतिसहित आउदा खेलहरु जित्ने शुभकामना ।

Share Now