Prakash Adhikari February 14, 2026

विर्तामोड(झापा), २ फागुन । चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४-० ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

मछिन्द्रका स्ट्राइकर विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मछिन्द्र फाइनल प्रवेश गरेको हो । मछिन्द्रले उपाधिका लागि एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
आजको खेलमा मछिन्द्रले खेलको चौथो मिनेटमै अग्रता लियो ।

मछिन्द्रका लागि जोनाथन जोरिल्लाले गोल गरे । अयोला हमजातको क्रस पासमा डिबक्समा अनमार्क रहेका जोरिल्लाले वान टचमा गोल गरेका थिए ।

खेलको २४ औँ मिनेटमा मछिन्द्रले पेनाल्टी पायो । जोरिल्लाको फ्रि किक प्रहारमा आर्मीका खेलाडीको डिबक्समा ह्यान्डबल भएपछि मछिन्द्रले पेनाल्टी पाएको थियो । उनै जोरिल्लाले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफ २–० को बराबरी भएपछि दोस्रो हाफमा आर्मी दबाबमा परेको थियो । मछिन्द्रले खेलको ५२ मिनेटमा अर्को गोल थपेर खेलमा जित सुनिश्चित गरेको थियो ।

आर्मीका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई प्रदिप बुढाथोकीले डिबक्समा पास मिलाइदिएका थिए । सो बललाई जोरिल्लाले पोष्टको दिशा दिएका थिए ।

खेलको अतिरिक्त समयमा मछिन्द्रका जगेडा खेलाडी रेजिन सुब्बाले एक गोल थपे । मैदानको मध्यभागमा पाएको बललाई आर्मीका दुई डिफेन्डरलाई बिट गरेर एकल प्रयासमा उनले गोल गरेका थिए ।

खेलको १७ औँ मिनेटमा सौरभ लिम्बू र अतिरिक्त समयममा अभिषेक स्याङतानले सदुपयोग गर्न नसक्दा गोल अन्तर बढाउने मौका गुमाएको थियो ।

मछिन्द्रसामु आर्मीको प्रदर्शन फितलो रह्यो । खेलको नवौँ मिनेटमा डिबक्समा रहेका आर्मीका नविन लामाको फ्रिहेडर बारमाथिबाट बाहिरियो । ७० औँ मिनेटमा दिनेश हेन्जनले बक्सभित्र पाएको बल सदुपयोग गर्न सकेनन् ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरि प्लेयर अफ द म्याचको पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ तथा उनका साथीहरुले प्रदान गर्दै आएका छन् ।

यसैबीच, प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको फाइनल फागुन ४ गते हुनेछ ।

Share Now