- गियर्मो डी. ओल्मो
बीबीसी न्यूज मुन्डो
लण्डन(संयुक्त अधिराज्य), ६ फागुन । राष्ट्रपति डोनल्ड ट्रम्पले आर्क्टिक क्षेत्रमा रहेको अर्धस्वायत्त डेनिश भूभाग ग्रीनल्यान्डको नियन्त्रण अमेरिकाले लिनुपर्ने भन्दै गर्दा इतिहासकारहरूले कसरी विगतका समयमा अमेरिकाले जमिन किन्दै आफ्नो विस्तार गरेको थियो भनेर समीक्षा गरिरहेका छन्।
विगतमा, ग्रीनल्यान्डमा जस्तै, अरू शक्तिको हात पर्नुअगाडि आफूले ती जमिन कब्जा गर्न आवश्यक भएको वाशिङ्टनले दाबी गर्थ्यो, मिजोरी यूनिभर्सिटीका इतिहासविद् जे सेक्स्टनले भन्नुभयो।
सुरक्षाका निम्ति ग्रीनल्यान्डको स्वामित्व अमेरिकाले लिनुपर्ने ट्रम्पले बारम्बार भन्दै आउनुभएको छ। एकचोटि त उहाँले त्यसका निम्ति कठिन विकल्प समेत रोज्न आफू तयार रहेको बताउनुभएको थियो। तर पछि यो विषयबारे आफूले तत्काल वार्ता चाहेको र लक्ष्य प्राप्त गर्न शक्तिको प्रयोग नगर्ने बताउनुभयो।
यहाँ हामीले गत दुई शताब्दीमा संयुक्त राज्य अमेरिकाले गरेका महत्त्वपूर्ण जमिन खरिदका घटनाहरूको समीक्षा गरेका छौँ, जसका कारण उक्त देशको सिमाना विस्तार भयो।

अमेरिकाले खरिद गरेका भूभागहरूको नक्सा
लुईजिआना पर्चेज (१८०३)
सन् १८०३ मा फ्रान्ससँग लुईजिआना क्षेत्र खरिद गर्ने राष्ट्रपति थोमस जेफर्सनको निर्णय अमेरिकाका निम्ति एक ऐतिहासिक घटना थियो। करिब २० लाख वर्ग किलोमिटर क्षेत्रफलको उक्त भूभाग किन्ने कार्य ( लुइजिआना पर्चेज ( तत्कालीन नयाँ देश र उक्त देशलाई विस्तारित महादेशीय शक्ति बनाउने दिशाका निम्ति महत्त्वपूर्ण बिन्दु थियो।
लुइजिआना उपनिवेश त्यतिखेर उत्तर अमेरिकामा फ्रान्सको सबैभन्दा ठूलो क्षेत्र थियो। तर हाल हेइटी भनेर चिनिने फ्रान्स(नियन्त्रित सेन्ट डोमिङ्ग टापुमा पटकपटक भएको दासहरूको विद्रोह अनि ब्रिटेनसँग युद्धका खतराका माझ फ्रान्सका नेता नेपोलिअन बोनापार्टले सो क्षेत्र अमेरिकालाई बेच्ने निधो गरेका थिए।
सन् १८०३ मा फ्रान्ससँग लुईजिआना खरिदले अमेरिकाको क्षेत्र विस्तार देखाउने नक्सा
सन् १८०३ मा फ्रान्ससँग लुईजिआना खरिद नै तत्कालीन नयाँ देश संयुक्त राज्य अमेरिकाको पहिलो ठूलो विस्तार थियो।
अहिले लुईजिआना राज्य जत्रो छ, त्योभन्दा त्यतिखेरको लुइजिआना क्षेत्र निकै ठूलो थियो र त्यसमा मिसिसिपी नदी तथा रकी पर्वतको बीचमा पर्ने हालका १५ आधुनिक राज्यहरू समाविष्ट थिए।
संयुक्त राज्य अमेरिकाको भविष्यका लागि पश्चिमी विस्तार अपरिहार्य ठान्ने जेफर्सनको महत्त्वाकाङ्क्षाका निम्ति यो भूभागको स्वामित्त्व लिनु निकै महत्त्वपूर्ण थियो।
सन् १८०३ को नोभेम्बरमा अमेरिकी तथा फ्रान्सेली सरकारबीच सहमति भयो। सो भूभागका लागि अमेरिकाले डेढ करोड डलर तिर्यो।
यो खरिदसँगै नयाँ देशको क्षेत्रफल झन्डै दोबर भयो।
मेक्सिकन सेशन (१८४८)
सन् १८४०को दशकसम्म आइपुग्दा अधिकांश अमेरिकी जनताले आफ्नो देशलाई प्रशान्त महासागरको तटसम्म गरिने पश्चिमी विस्तारलाई न्यायोचित र अपरिहार्य मान्न थालिसकेका थिए।
अन्ततः त्यसको मूल्य मेक्सिकोले चुकाउनुपर्यो।
राष्ट्रपति जेम्स के पोल्क अमेरिकाको सिमाना विस्तार गर्ने नीतिका एक प्रखर समर्थक हुनुहुन्थ्यो। सन् १८४५ मा कार्यभार सम्हाल्दा टेक्ससको नियन्त्रणबारे विवाद चलिरहेको थियो। टेक्सस सन् १८३६ ताका मेक्सिकोबाट स्वतन्त्र भएको थियो।
वाशिङ्टनले सन् १८४५ मा टेक्ससलाई गाभ्यो र आफ्नो एउटा राज्य बनायो। त्यसको एक वर्ष नबित्दै अमेरिकी तथा मेक्सिकन फौजबीच लडाइँ भयो। कङ्ग्रेसले मेक्सिकोविरुद्ध युद्ध घोषणा अनुमोदन गर्यो। तर युद्धका कारणहरू धेरै थिए।
इतिहासविद् जे सेक्स्टनका अनुसार त्यति बेला मेक्सिकोको स्वामित्वमा रहेको क्यालिफोर्नियामा अमेरिकाले चासो देखाएको थियो। त्यो क्षेत्र आर्थिक रूपमा सबैभन्दा गतिशील थियो अनि त्यहाँ एशियासँग व्यापार गर्न महत्त्वपूर्ण मानिएका सबल बन्दरगाहहरू थिए।
तर विद्यमान आन्तरिक राजनीतिक अवस्थाका माझ कुनै पनि मेक्सिकन सरकारले क्यालिफोर्निया बेच्ने निर्णय गर्न सक्ने स्थिति नरहेको सेक्स्टनले बताउनुभयो।
१८४८ मा मेक्सिकोसँगको युद्धमा विजयपश्चात् संयुक्त राज्य अमेरिकाले क्षेत्र विस्तार गर्न सक्यो ।अमेरिकाले युद्ध जितेपछि सन् १८४८मा दुई देशले ग्वादालुप हिदाल्गो सन्धिमा हस्ताक्षर गरे।
मेक्सिकोले त्याग्नुपरेको जमिनका लागि वाशिङ्टनले डेढ करोड डलर तिर्यो, जुन अहिलेको बजार भाउअनुसार करिब ६१ करोड ५० लाख डलर हुन आउँछ। यो विस्तारित भूभागमा अहिलेको क्यालिफोर्निया, नभाडा र यूटाह राज्य तथा एरिजोना, कोलराडो, न्यू मेक्सिको र वाइओमिङका केही भाग पर्छन्।
“तथापि युद्ध नहारेको भए मेक्सिकोले यी जमिन बेच्ने थिएन”, भन्नुहुन्छ, सेक्स्टन। “कञ्चटमा बन्दूक तेर्साएर गरिएको खरिद थियो त्यो”, उहाँले भन्नुभयो।
युद्ध अगाडिको आफ्नो आधाभन्दा धेरै भूभाग मेक्सिकोले त्याग्नु पर्यो। अमेरिकाले थप १३ लाख ६० हजार वर्ग किलोमिटर क्षेत्रफल आफ्नो बनायो।
ग्याड्ज्डन पर्चेज (१८५३)
सन् १८४८ मा मेक्सिको(अमेरिका युद्ध अन्त्य भएतापनि दुई देशबीच तनाव कायम रह्यो। सन् १८५४ मा दुई सरकारबीच दक्षिणमा रहेको सानो मेक्सिकन भूभाग अमेरिकाले खरिद गर्ने सहमति भयो, जुन हालको एरिजोना र न्यू मेक्सिको राज्यमा गाभिएका छन्।
मेक्सिकोमा भेन्टा डे ला मेसिला अनि अमेरिकामा ग्याड्ज्डन पर्चेज भनेर चिनिने उक्त सहमति खासमा दुई कारणले सम्भव भयो ( एक त अन्तरमहादेशीय रेलवे निर्माण गर्ने अमेरिकी चाहना अनि अर्को मेक्सिकोले बेहोरिरहेको आर्थिक समस्या।
सो ७६,९०० वर्गकिलोमिटर जमिनका लागि अमेरिकी सरकारले करिब एक करोड डलर तिर्यो, जुन अहिलेको बजार भाउअनुसार करिब ४२ करोड १० लाख डलर हुन आउँछ। वर्तमान अमेरिकाको यो दक्षिणी सिमाक्षेत्र बन्न पुग्यो।
रुससँग अलास्का खरिद (१८६७)
सन् १८६७मा रुसी साम्राज्यसँग दुर्गम आर्क्टिक भूभाग अलास्का किन्ने तत्कालीन अमेरिकी विदेशमन्त्री विलिअम सेवार्डको चाहना धेरैले बुझ्नै सकेनन्।
उक्त जमिनको ठूलो रणनीतिक महत्त्व भएको सेवार्ड विश्वास गर्नुहुन्थ्यो किनभने त्यसले ब्रिटिशलाई उत्तर अमेरिकामा हस्तक्षेप गर्नबाट रोक्थ्यो अनि प्रशान्त महासागरमा माछा मार्ने कार्यका निम्ति अमेरिकालाई विस्तारित पहुँच दिन्थ्यो।
रुसले चाहिँ बेकम्मा भूमि बेचेको विश्वास गर्थ्यो, जसको एकातिर प्रशासन खर्चिलो हुन्थ्यो भने अर्कोतिर उसको तत्कालीन मुख्य प्रतिस्पर्धी यूकेको आक्रमणको जोखिममा परेको ठानिन्थ्यो।
सेवार्डले १५ लाख ५४ हजार वर्ग किलोमिटर क्षेत्रफल भएको अलास्का रुससँग ७२ लाख डलरमा किन्ने सहमति गरे, जुन वर्तमान बजार भाउअनुसार करिब १५ करोड ८० लाख डलर हुन आउँछ। तर त्यो सहमतिलाई अमेरिकी जनताले राम्रो मानेका थिएनन्।
उहाँका विपक्षीहरूले ूसेवार्डको मूर्खताू भने र त्यसले निकै विवाद जन्मायो। कतिपय मानिस अमेरिकाले बेकारको जमिन किनेको भन्ठान्थे।
आलोचनाका माझ कङ्ग्रेसले उक्त सहमति अनुमोदन गर्यो र अलास्का अमेरिकी भूभाग भयो। तर सन् १९५९ मा आएर मात्र अलास्काले संयुक्त राज्य अमेरिकाको एक राज्यको मान्यता पायो।
अन्ततः अलास्कामा सुन तथा तेलका विशाल भण्डार पत्ता लाग्यो। शीतयुद्धको समयमा यसको थप सैन्य महत्त्व उजागर भयो।
डेन्मार्कसँग यूएस भर्जिन आइल्यान्ड्स खरिद (१९१७)
अमेरिकाले अन्तिम चोटि किनेको भूभाग डेन्मार्कसँग किनेको थियो। डेनिश वेस्ट इन्डिज भनेर चिनिएका क्यारिबीअन क्षेत्रका टापुहरूको उक्त समूहलाई अमेरिकी रणनीतिकारहरूले १९औँ शताब्दीको मध्येदेखि नै आँखा लगाइरहेका थिए।
विलिअम सेवार्डले उहाँको शान्तिपूर्ण विस्तार नीतिमा यी क्षेत्रलाई पनि पार्नुभएको थियो।
वर्तमानमा यूएस भर्जिन आइल्यान्ड्सका तीन मुख्य टापुमध्ये एक सेन्ट टमसको बन्दरगाहले विशेष ध्यान खिचेको थियो। क्यारिबीअन क्षेत्र नियन्त्रणका निम्ति यहाँ अखडा राख्नु महत्त्वपूर्ण हुने ठानिएको थियो।
त्यही ताका डेनमार्कमा चाहिँ ती टापुमा उसको रुचि घट्दै थियो। ती क्षेत्रमा पहिले उसले अफ्रिकाबाट ओसारिएका दासहरूमार्फत् विशाल उखु खेती गराएको थियो। तर विश्वभर चिनीको मूल्यमा गिरावट आएपछि त्यसको उत्साह घटेको थियो।
सन् १८६७ सम्म आइपुग्दा दुई देशबीच त्यहाँका दुईवटा टापु अमेरिकालाई ७५ लाख डलरमा (हालको मूल्यमा करिब १६ करोड ४० लाख डलर) बेच्ने प्रारम्भिक सहमति भएको थियो। तर त्यसलाई अमेरिकी कङ्ग्रेसले अनुमोदन गर्न अस्वीकार गरिदियो।
प्रथम विश्वयुद्ध छेडिएपछि जर्मन पनडुब्बीहरूले उब्जाएको खतराले अमेरिकालाई फेरि ती टापुहरूको महत्त्व सम्झायो। युरोपमा जर्मनीले डेन्मार्क अतिक्रमण गर्ने अनि उसले ती टापुहरू तथा रणनीतिक महत्त्वको सेन्ट टमस बन्दरगाहको नियन्त्रण लिने डर वाशिङ्टनमा पैदा भयो।
अमेरिकी विदेश मन्त्रालयको वेबसाइटअनुसार राष्ट्रपति वुड्रो विल्सनका विदेशमन्त्रीले डेन्मार्कलाई यदि उसले ती टापु नबेच्ने हो भने तिनलाई जर्मन नियन्त्रणमा जानबाट रोक्न अमेरिकाले कब्जा गर्न सक्ने चेतावनी दिनुभएको थियो।
डेनिश इन्स्टिट्यूट फर इन्टर्न्याशनल स्टडिजका वरिष्ठ शोधकर्ता एस्ट्रिड एन्डर्सन त्यतिखेरको सन्दर्भ र अहिलेको घटनाक्रममा रहेका समानताको चर्चा गर्नुहुन्छ।
“ग्रीनल्यान्डबारे अहिले हामीले सुनिरहेको कुरा प्रतिध्वनि हो किनभने अमेरिकाले भनेको थियो स् ुया त तिमी यो जमिन हामीलाई बेच अन्यथा हामी अतिक्रमण गर्छौँ”,ु एन्डर्सनले भन्नुभएको थियो।
सन् १९१७ सम्म आइपुग्दा दुई पक्षबीच सहमति भयो। अमेरिकाले २ करोड ५० लाख डलरमा ती क्यारिबीअन टापुहरू किन्यो।


















