दुबई, १६ फागुन (रासस/एपी) : इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गर्नुभएको छ । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको छ । त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उठेको देखिएको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ सुरु गरेको बताउनुभयो । उहाँले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गर्नुभयो । यसैबीच, ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमा हुनुहुन्थ्यो कि हुनुहुन्न भन्ने स्पष्ट भएको छैन । अमेरिकासँग बढ्दो तनावका कारण उहाँ केही दिनयता सार्वजनिक रूपमा देखिनुभएको थिएन ।
आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोतहरू तैनाथ गरिरहेको अवस्थामा भएको हो । इजरायली अभियानमा इरानी सेना, सरकारी प्रतीक तथा गुप्तचर संरचनाहरू लक्षित गरिएको एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् ।
तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडकहरू बन्द गरिएका छन् भने राजधानीभर अन्य विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन । इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र मोबाइल सेवा पनि अवरुद्ध गरिएको छ । छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको यातायात मन्त्रालयले जनाएको छ ।
इजरायलभर साइरन बजाइएको छ र सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ । इजरायलका अस्पतालहरूले आकस्मिक प्रोटोकल लागू गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् । इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ ।
इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट गरेको छैन, तर क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डा र कर्मचारीहरू सम्भावित जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताउनुभएको छ, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
अहिलेसम्म हताहतबारे आधिकारिक जानकारी आएको छैन । घटनाक्रमले मध्यपूर्वमा थप सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ ।
क्षेत्रीय तनाव चुलियो
अमेरिका–इरान आणविक वार्तामा तनाव बढिरहेका बेला इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिनदहाडै आक्रमण गरेको छ । सहरको केन्द्र भागबाट धुवाँका बाक्लो बादल उठेको देखिएको छ भने आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ ।
छयासी वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र हुनुहुन्थ्यो कि हुनुहुन्न भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । अमेरिकासँगको बढ्दो तनावका कारण उहाँ केही दिनयता सार्वजनिक रूपमा देखिनुभएको थिएन । यसैबीच, अमेरिकाले इरानलाई आणविक कार्यक्रमबारे सम्झौतामा ल्याउन दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोत तैनाथ गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउने उद्देश्यले सम्झौता चाहनुहुन्थ्यो । इरान भने युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार कायम राख्न चाहन्छ र लामो दूरीका क्षेप्यास्त्र कार्यक्रम वा हमास तथा हिजबुल्लाह जस्ता सशस्त्र समूहलाई समर्थनबारे वार्ता गर्न इच्छुक देखिएको छैन । देशभित्र बढ्दो असन्तोष र विरोधबीच इरान युद्धबाट बच्न चाहिरहेको सङ्केत दिइरहेको छ ।
इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट जानकारी दिएको छैन, तर क्षेत्रभर फैलिएका अमेरिकी सैन्य अड्डा र कर्मचारी कुनै पनि जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताउनुभएको छ, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
तेहरानका प्रत्यक्षदर्शीहरूले खामेनीको कार्यालय आसपास पहिलो विस्फोटको आवाज सुनेको बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि कारण खुलाएको छैन । त्यही समयमा इजरायलभर साइरन बजाइएको थियो । इजरायली सेनाले ‘सम्भावित क्षेप्यास्त्र प्रहारको तयारीस्वरूप’ जनतालाई सतर्क रहन आग्रह गरेको जनाएको छ ।
इजरायलले थप आक्रमण भइरहेको दाबी गरेपछि तेहरानमा थप विस्फोटका आवाज सुनिएको रिपोर्ट आएको छ । हालसम्म हताहतबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन । आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र पाइलटहरूलाई विशेष चेतावनी जारी गरिएको छ ।
अमेरिकी सेनाले घटनाबारे तत्काल टिप्पणी गर्न अस्वीकार गरेको छ । घटनाले मध्यपूर्वमा नयाँ सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ ।


















