रियाद(साउदी अरेबिया), १७ फागुन । तेहरानमाथि अमेरिकी-इजरायली हमलामा परी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिनुभएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताउनुभएको छ ।
ट्रम्पले इरानी जनता, अमेरिकी जनता र विश्वभरि धेरै मानिसका निम्ति न्याय भएको भनी सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
उहाँले बमबारी जारी रहने भन्दै इरानी जनताका लागि उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएकोू टिप्पणी गर्नुभएको छ ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पछिल्लो विकासक्रम भएको हो। यसअघि इजरायलले सातजना इरानी अधिकारीहरूलाई मारिदिएको बताएको थियो। तर त्यसमा खामेनेईबारे केही भनिएको थिएन।
अमेरिका र इजरेलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ।
मध्यपूर्वमा आक्रमण
दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।
अमेरिका र इजरेलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ।
इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन्।
दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो।
रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ।
इजरेलसँग सिमा जोडिएको जोर्डनले उस्का सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ।
संयुक्त अरब एमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ। अधिकारीहरूले “पाम जुमेरा क्षेत्रमा एउटा भवनमा भएको” भनेका त्यस घटनामा चारजनालाई चोट पटक लागेको जनाइएको छ।
इरानद्वारा अस्वीकार
इरानको फार्स न्यूज एजेन्सीले सर्वोच्च नेताको कार्यालयस्थित “सुसूचित स्रोतहरू”लाई उद्धृत गर्दै जनाएअनुसार आक्रमणमा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना मारिएका छन्। उक्त समाचार संस्था आईआरजीसीसँग सम्बद्ध छ।
फार्सले “खामेनेईकी एकजना बुहारी पनि मारिएकी आफूलाई जानकारी गराइएको” उल्लेख गरेको छ।
बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय मामिला संवाददाता लीज डुसेटका अनुसार इरानका अधिकारीहरूले सर्वोच्च नेता खामेनेईको मृत्युबारे केही बताएका छैनन्।
खामेनेईको कार्यालय परिसरमा क्षति पुगेको भूउपग्रहबाट प्राप्त तस्वीरहरूमा देखिन्छ।
इजरेली र अमेरिकी सञ्चारमाध्यमहरूले अधिकारीहरूको नाम उल्लेख नगरी खामेनेई जीवित नरहेकामा अब कुनै आशङ्का नरहेको बताएका छन्।
तर इरानी अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन्। इरानको सरकारी टेलिभिजनमा एक प्रस्तोताले खामेनेईको नाम उल्लेख नगरी “शत्रुहरूको मनोवैज्ञानिक झूटा प्रचारबाजीलाई इरानी जनताले अस्वीकार गर्ने” बताए।
शक्तिशाली व्यक्ति
खामेनेई सन् १९७९ को क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता हुनुहुन्छ। सन् १९८९ मा रुहोल्ला खोमेइनीको निधनपछि उहाँ सर्वोच्च नेता बन्न पुग्नुभएको हो।
खामेनेईका कट्टरपन्थी धारणा र नीतिहरूले नै हालको इस्लामिक गणतन्त्रमा मानिसहरूको जनजीवनलाई आकार दिएको हो।
विगत चार दशकदेखि शक्तिमा रहिआएका खामेनेईको कार्यालयको शक्तिले उहाँलाई देशको सर्वशक्तिमान व्यक्ति बनाएको बताइन्छ ।


















