Prakash Adhikari February 28, 2026

 

दुवाई(युनाइटेड अरब इमिरेट्स), १७ फागुन (बीबीसी) । इरानले अमेरिकी र इजरायली आक्रमणमा परी सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका पुष्टि गरेको छ।

आँखाभरि आँसु देखिएका सरकारी टेलिभिजनका एक प्रस्तोताले मुलुकमा ४० दिनसम्म शोक मनाउने घोषणा गरिएको बताएका छन्।

यसअघि इरानी सरकारी सञ्चारमाध्यमले हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी मारिएका जनाएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानमाथि अमेरिकी इजरायली हमलामा परी खामेनेई मारिएका सामाजिक सञ्जालमार्फत्‌ घोषणा गर्नुभएको थियो ।

ट्रम्पले इरानी जनता, अमेरिकी जनता र विश्वभरि धेरै मानिसका निम्ति न्याय भएको भनी सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

उहाँले बमबारी जारी रहने भन्दै इरानी जनताका लागि उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको टिप्पणी गर्नुभएको छ।

मध्यपूर्वमा आक्रमण

अमेरिका र इजरायलले गरेको हमलाको जबाफमा इरानले मध्यपूर्वभरि आक्रमण गरेको छ।

दुबई, दोहा, बाहरेन र कुवेतमा अवस्थित अमेरिकी सैनिक अखडाहरूमा इरानले हमला गरेको विवरणहरूमा जनाइएको छ।

इरानमा पुगेको क्षति

अमेरिका र इजरायलको हमलामा परी इरानमा दुई सय जनाभन्दा बढी व्यक्ति मारिएका रेडक्रसले जनाएको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार एउटा कन्या विद्यालयमाथि आक्रमण हुँदा कम्तीमा ८५ जना मारिएका छन्।

दोहामा त्यहाँ अवस्थित त्यस क्षेत्रकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर विस्फोटन भएको थियो।

रोएटर्स समाचार संस्थाले इराकको एब्रिलस्थित अमेरिकी सैन्य अखडा नजिकै एउटा ड्रोनलाई अमेरिकी हवाई प्रतिरक्षा प्रणालीले खसालिदिएको जनाएको छ।

इजरायलसँग सिमा जोडिएको जोर्डनले उस्का सशस्त्र सैन्यले दुईवटा बलिस्टिक क्षेप्यास्त्रलाई खसालीदिएका जनाएको छ।

संयुक्त अरब एमिरेट्सको दुबई शहरस्थित फेअरमोन्ट द पाम होटेलमा विस्फोटन भएको देखिएको छ। अधिकारीहरूले ूपाम जुमेरा क्षेत्रमा एउटा भवनमा भएकोू भनेका त्यस घटनामा चारजनालाई चोट पटक लागेको जनाइएको छ।

शक्तिशाली व्यक्ति

खामेनेई सन् १९७९ को क्रान्तिपछिका इरानका दोस्रा सर्वोच्च नेता हुनुहुन्थ्यो। सन् १९८९ मा रुहोल्लाह खोमेइनीको निधनपछि उहाँ सर्वोच्च नेता बन्नुभएको थियो।

खामेनेईका कट्टरपन्थी धारणा र नीतिहरूले नै हालको इस्लामिक गणतन्त्रमा मानिसहरूको जनजीवनलाई आकार दिएको हो।

विगत चार दशकदेखि शक्तिमा रहिआएका खामेनेईको कार्यालयको शक्तिले उनलाई देशको सर्वशक्तिमान व्यक्ति बनाएको थियो।

इरानको अवस्था
इरानी सत्ताले सधैँ परमाणु अस्त्र तयार पार्न नचाहेको दोहोर्‍याउँदै आएको छ। तर उसले परमाणु कार्यक्रममा गैरसैनिक प्रयोजनका लागि उपयोग नहुने स्तरमा युरेनियम प्रशोधन गरेको थियो।

सो सन्दर्भमा उसको न्यूनतम चाहना भनेको एउटा बम बनाउन प्रयोग गर्न सकिने विकल्पसम्म तयार पार्ने हुनसक्ने अनुमान गर्न सकिन्छ। तर यस्तो पनि हुन लागेको भन्ने देखाउने प्रमाण इजरायल र अमेरिकाले हालसम्म सार्वजनिक गरेका छैनन्।

हवाई हमलाहरू गर्दैमा कुनै पनि देशमा सत्ता परिवर्तन भएको दृष्टान्तहरू छैनन्। इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वको ठूलो अतिक्रमणकारी सैन्यले सद्दाम हुसेनलाई सत्ताच्युत गरेको थियो।

लिबियामा मुअम्मर गद्दाफीलाई सन् २०११ मा विद्रोही सैन्यले हटाएका थिए र तिनीहरूलाई नेटो र अन्य केही अरब देशहरूले हवाई शक्ति दिएका थिए।

ती दुवै घटनामा निस्किएको नतिजा भनेको सत्ताको पतन, गृहयुद्ध र हजारौँको मृत्यु नै रह्यो। लिबिया अझै पनि असफल राष्ट्रको रूपमा रहेको छ। इराक अझै त्यसबेलाको सैन्य अतिक्रमण र रक्तपातको असरसँग जुझिरहेको छ।

यसपटक हवाई हमलाको शक्तिका भरमा नै सत्ता परिवर्तन भएमा पनि त्यहाँको इस्लामिक शासनलाई मानवअधिकारको प्रत्याभूति दिने उदारवादी प्रजातान्त्रिक व्यवस्थाले प्रतिस्थापन गर्ने छैन।

अहिलेको शासन ढलेमा सत्ताको बागडोर सम्हाल्नका लागि भनेर निर्वासनमा रहेको कुनै विश्वसनीयताप्राप्त सरकार तयार अवस्थामा बसिरहेको पनि छैन।

इरानका नेताहरू कसरी यो युद्धबाट निस्कने, कसरी जोगिने र कसरी यसका प्रभावहरूलाई व्यवस्थापन गर्ने भनेर हिसाबकिताब गरिरहेका हुन सक्छन्।

साउदी अरेबियाको नेतृत्वमा रहेका तिनीहरूका छिमेकीहरू भने शनिवारका हमलाका घटनाहरूका सम्भावित परिणामहरू र निकै ठूलो अनिश्चितताको वातावरणबाट चिन्तित अवस्थामा रहेका हुनसक्छन्।

Share Now