Prakash Adhikari March 5, 2026

काठमाडौं, २१ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीले फागुन २१ गते आफूले दुई पटक पुनर्जीवन पाएको दिन भएकोले जीवनभर विर्सन नसक्ने दिनको रुपमा लिएको बताउनुभएको छ ।

आज प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुरको बालकोटमा मतदान गरेपछि उहाँले आफ्नो सामाजिक सञ्जालबाट सो कुरा सार्वजनिक गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ,”आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।
झापा आन्दोलन, जसले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको थियो। त्यही क्रममा हामीलाई जेल हालिएको थियो। झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो। जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ। देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।”

उहाँले थप्नुभएको छ, “फागुन २१ कहिल्यै नबिर्सने दिन हो।”

Share Now