- प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली
काठमाडौं, २१ फागुन । मतदानको लागि तोकिएको समय सकिए लगत्तै बीबीसीसँगको विशेष कुराकानी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि विकसित वातावरणलाई सुदृढ बनाउन चुनावबाहेक अर्को विकल्प नभएको भन्दै सुरुमा निर्वाचनप्रति अनिच्छुक दलहरूलाई निरन्तर मनाउने काम गर्न सकेको बताउनुभएको छ।
धेरैपटक निर्वाचन हुँदैन भन्दै आएका अवरोध र टिप्पणीहरूलाई आफूहरूले ध्यान नदिएर एकोहोरो लाग्दै निर्वाचनको काम फत्ते गरेको उहाँले बताउनुभयो ।
निर्वाचनका क्रममा कुनै रक्तपात हुने अवस्था हुन नदिन आफूले सुरुदेखि नै ध्यान दिएको बताउँदै प्रधानमन्त्री कार्कीले त्यसो गर्न सकेकोमा प्रसन्नता व्यक्त गर्नुभयो। उहाँले मितव्ययी रूपमा निर्वाचन गराएको समेत दाबी गर्नुभयो ।
“यही नै मलाई प्राप्ति जस्तो पनि लाग्छ। निर्वाचन सरल पनि भयो। जुन किसिमले यो निर्वाचन हुन सकिन्न भनिन्थ्यो। चुनौती नै थियो नि। तर सफल भयो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।
“अब हामी ‘जाँचबुझ आयोगकोे प्रतिवेदन पनि बुझ्छौँ’अरू प्रतिवेदनहरू पनि बाँकी छन् भने डिस्क्लोज गर्ने प्रयास हुन्छ। यही बेलामा हामी गर्छौँ।”
उहाँले आउने सरकारसँग ‘युवाहरूको आशा रहेको’ बताउँदै आफ्नो सरकारले देखेका ‘कमीकमजोरीको एउटा फेहरिस्त श्वेतपत्रजस्तो बनाएर’ नयाँ सरकारलाई छाड्ने बताउनुभयो ।
सत्ता हस्तान्तरण छिटोभन्दा छिटो गर्न आतुर रहेको कुरा दोहोर्याउँदै प्रधानमन्त्रीले अब आउने सरकारसँग ‘जेनजीहरूको विकास, परिवर्तनको आशा र विकासको मार्गचित्र’ को आशा रहने औँल्याउनुभयो ।


















