Prakash Adhikari March 5, 2026

 

काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले देशभरि करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। यो अनुपात यसअघि २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो।

मतदानपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताउनुभयो ।

यसअघिका चुनावमा कहिले कति मत खसेको थियो

  • विसं २०७९: ६१.६३ प्रतिशत
  • विसं २०७४: ६८.६७ प्रतिशत
  • विसं २०७०: ७८.३४ प्रतिशत (दोस्रो संविधानसभा)
  • विसं २०६४: ६१.७० (पहिलो संविधानसभा)
  • विसं २०५६: ६५.७९ प्रतिशत
  • विसं २०५१: ६१.८६ प्रतिशत
  • विसं २०४८: ६५.१५ प्रतिशत

यो निर्वाचनमा १ करोड ९० लाख नागरिक मतदानका लागि योग्य थिए। यो निर्वाचनबाट प्रतिनिधिसभाका २ सय ७५ सदस्य चयन हुन्छन्। जसमध्ये निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनिएर १ सय ६५ जना र समानुपातिक प्रणालीबाट १ सय १० जना सांसद छानिन्छन्।

प्रत्यक्ष तर्फ राजनीतिक दलका र स्वतन्त्र समेत गरी ३ हजार ४ सय जना भन्दा धेरै उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

दुर्गमका १५ जिल्लामा हेलिकप्टरमार्फत् मतपेटिका ढुवानी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दुर्गमका विभिन्न १५ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिने बताएका छन्।

उहाँका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुम सहितका जिल्लामा हेलिकप्टर मार्फत् मतपेटिका ढुवानी गरिने हुँदै छ।

सात जिल्लाको मतपत्र भोलि मात्रै गणनास्थलमा पुग्ने

निर्वाचन आयोगले ७ जिल्लाको मतपत्र भोलि शुक्रवार बिहानसम्म मात्रै गणनास्थलमा पुग्ने बताएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही जिल्लाको मतपत्र आजै मतगणना स्थलमा नपुग्ने अवस्था देखिएको बताउनुभएको हो ।

उहाँका अनुसार सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लामा शुक्रवार बिहान मतगणनास्थलमा मतपेटिका पुर्‍याउने तयारी छ।

मतदान अस्वीकारका घटना ‘आयोगका कारण होइन’

निर्वाचन आयोगले केही ठाउँमा मतदाता भोट हाल्न नजानुमा आयोगको कमजोरी नभएको बताएको छ।

“केही ठाउँमा मतदाताहरूले मतदान गर्न अस्वीकार गर्नु भएको छ। त्यो हाम्रो कारण होइन,” कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भन्नुभयो।

आयोगका अनुसार मतदाता मतदानका लागि नगएका केही ठाउँ आयोगबाट पहिचान भएका छन्। दाङ र ओखलढुङ्गा सहितका केही स्थानमा मानिसहरू भोट हाल्न नगएका विवरण सार्वजनिक भएका छन्।

प्रदेश सरकारबाट प्रतिबद्धता भएका काम पूरा नभएका कारण उनीहरूले सरकारप्रति असन्तुष्टि जाहेर मात्रै गरेको भण्डारीले बताउनुभएको छ ।

शीर्ष नेता र सहयोगी प्रचारकलाई हेलिकोप्टर प्रयोगको अनुमति

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बालेन्द्र शाह बालेनलाई आयोगले हेलिकोप्टर प्रयोगको अनुमति दिएको बताउनुभएको छ ।

झापा ५ का उम्मेदवार बालेन बीच बाटोबाटै फर्किएकोबारे पत्रकारले सोधेको प्रश्नमा बालेनको नाम नलिई उहाँले निर्वाचन आयोगले दलका उच्च नेता र सहयोगी प्रचारकलाई हेलिकोप्टर प्रयोगको अनुमति दिएको बताउनुभयो ।

“दलका उच्च नेतालाई अनुमति दिएको हो, केही नेता जानु पनि भएको छ। केही नेता सुरक्षाका कारण बीचबाटोबाटै फर्किनुभएको हामीले प्रारम्भिक जानकारी पाएका छौँ,” भण्डारीले भन्नुभयो ।

 

Share Now