Prakash Adhikari March 5, 2026
काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना १६५ निर्वाचन क्षेत्रअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मतगणना सम्बन्धित निर्वाचन क्षेत्र मातहतका मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएपछि सुरु गरिनेछ ।
मतगणना सुरु हुनुअघि जिल्ला तथा निर्वाचन क्षेत्रस्थित सर्वदलीय बैठक बस्ने छ । आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने योजनाका साथ काम गरिएको जनाएको छ । प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना सुरु हुनेछ ।
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
 प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिनुभयो ।
खसेको मतको यकीन हुन केही समय लाग्ने उहाँको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिनुभयो ।
झापामा आज रातिदेखि मतगणना सुरु हुँदै
प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेका छ ।
 निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिनुभयो । उहाँले राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिनुभयो । जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ ।  पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार चुनावी मैदानमा थिए । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता थिए ।
–––
बाजुरा : मतपेटिका सङ्कलन गरिँदै
आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको ५१ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार ११८ मतदान केन्द्रमा भएको मतदानमा ४४ हजार ७७३ मत खसेको छ । जम्मा ५१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले राससलाई जानकारी दिनुभयो ।
यो निर्वाचन तुलनात्मक रुपमा विगतका निर्वाचनभन्न्दा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो । हाल मतपेटिका सङ्कलन भइरहेको छ । दुर्गम तथा विकट मतदान केन्द्र रहेको हिमाली गाउँपालिका–३ मा रहेको हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत आजै जिल्ला सदरमुकाम मार्तडी पु-याइएको छ ।
अन्य तीन मतदान केन्द्र बौडी, बाम र विच्छ्याको मतपेटिका विच्छ्या प्रहरीचौकीमा सङ्कलन गरिने र शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइने मुख्य निर्वाचन अधिकारी पोखरेलले बताउनुभयो ।
जिल्ला सदरमुकाम मार्तडी आसपासका मतपेटिका मतगणनास्थल रहेको जिल्ला समन्वय समिति बाजुरामा ल्याइसकिएको र अन्य क्षेत्रको मतपेटिका सुरक्षाकर्मीले ल्याउने तयारी सकिरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।
सडक क्षेत्र पुगेका मतदान केन्द्रहरुमा सवारीसाधनमा आज राति नै नेपाली सेनासहितको सुरक्षामा मतपेटिका ल्याउने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । यहाँ कूल ८७ हजार ८६१ मतदाता कायम छन् । तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र दुई अन्य मतदाता छन् ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलसहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
हुम्ला: मतपेटिका ढुवानी हुँदै
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको मतपेटिका ढुवानी नेपाली सेनाको हेलिकप्टर मार्फत हुँदैछ ।
यसका लागि हेलिकप्टर लिमीको तील, जाङ, हल्जी सोही गाउँपालिका–४ को चालाको मतपेटिका ढुवानीका लागि हेलिकप्टर हुम्ला पुगेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो । आज उत्तरी लिमीको सुनखानी मावि मतदान केन्द्र हल्जी मतदान केन्द्रको मात्रै मतपेटिका ढुवानी हुने भएको छ  भने बाँकी मतदान केन्द्रका मतपेटिका शुक्रबार ढुवानी हुने भएको उहाँले बताउनुभयो ।
हल्जीको सुनखानी मतदान केन्द्रमा १६४ मत खसेको छ । बाँकी रहेका तील, जाङ र चालाका मतपेटिका शुक्रबार मात्रै ढुवानी हुने भएको छ ।
–––
Share Now