Prakash Adhikari September 13, 2018

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २८ भदौ । दक्षिण एसिया मामलाका जानकार रेन्डि विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत नियुक्त भएका छन् ।

गत बिहीबार अमेरिकाको सिनेटमा भएको सुनुवाइबाट उनको नाम नेपालको राजदूतका लागि अनुमोदन भएको हो ।

गत मे महिनाको १० तारिख बेरीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको राजदूतमा उनको नाम सिफारिस गरेका थिए ।

उनी अमेरिकाको विदेश मन्त्रालयको प्रजातन्त्र मानवअधिकार र श्रम विभागको उपनिर्देशकका रूपमा कार्यरत थिए । बेरीले अमेरिकी सरकारका विभिन्न निकायमा बसेर २५ वर्ष लामो सेवा गरिसकेका छन् ।

उनले न्यूजिल्याण्डमा सन् २००९ देखि २०१२ , नेदरल्याण्डमा काउन्सलर जनरलको रूपमा २०१२ देखि २०१५ काम गरिसकेका छन् । यस अघि नेपालमा उनले २००७ देखि २००९ सम्म राजदूत पछिको दोस्रो बरियातामा रहेर काम गरिसकेका छन् । बेरी नेपाल र दक्षिण एसियाली मामलामा राम्रो जानकार मानिन्छन् ।

कूटनीतिक सेवामा राम्रो काम गरेबापत उनले उत्कृष्ट र प्रतिष्ठित सम्मान समेत पाएका छन् । बेरी स्पेनिस र अरविक भाषामा राम्रो दख्खल राख्छन् ।

रेन्डि विलियम बेरी अमेरिकाको मध्ये पश्चिम राज्य कोलोराडोको हिलसाइडमा सन् १९६५मा जन्मिएका हुन् । उनी विदेश मन्त्रालयमा काम सुरु गर्नु अघि अमेरिका वेष्ट एयरलाइन्सका ट्रेनिङ म्यानेजर थिए ।

Share Now

Leave a comment.