Prakash Adhikari September 13, 2018

 

कोलम्बो(श्रीलंका),२८ भदौ(बीबीसी) ।  श्रीलङ्काको सरकारले देशमा भएका हिन्दू मन्दिरहरूमा पशुबलिलाई प्रतिबन्ध लगाउन सहमति व्यक्त गरेको छ।

सरकारका एक प्रवक्ताले बीबीसीलाई बताएअनुसार पशुबलिलाई प्रतिबन्ध लगाउने प्रस्ताव हिन्दू धार्मिक मन्त्रालयले गरेको हो र अधिकांश उदार हिन्दू समूहहरूले त्यसको समर्थन गरेका छन्।

केही हिन्दूहरूले मन्दिरमा बोका, पाडा र कुखुराको बलि चढाउने गर्छन्।

बौद्ध धर्मावलम्बीको बाहुल्य रहेको श्रीलङ्कामा ‘अमानवीय’ भन्दै बलिप्रथाको लामो समयदेखि विरोध हुँदै आएको छ।

हिन्दू र मुस्लिम पर्वहरूमा रगत बगाएर पशुपक्षीहरूको बलि दिने चलन छ। त्यसबाट पशुअधिकारवादी र बौद्ध समूहहरू आक्रोशित हुने गरेका छन्।

धेरै हिन्दूहरूले बलि दिन छोडेका छन्।

तर बलि दिनेहरूले भने सो प्रतिबन्धले आफ्नो धार्मिक स्वतन्त्रताको हनन हुने तर्क गरेका छन्। आफ्नो परम्परामा प्राचीन समयदेखि नै बलिप्रथा चलेर आएकाले त्यसलाई निरन्तरता दिन पाइनुपर्ने उनीहरूको माग छ।

श्रीलङ्का मन्दिर
श्रीलङ्काको कुल जनसङ्ख्याको १२ प्रतिशत हिन्दूहरूको रहेको छ

पशुबलिसम्बन्धी नयाँ कानुनले मुसलमानहरूको परम्परालाई भने छुने छैन। श्रीलङ्कामा मुसलमानहरू तेस्रो ठूलो समुदायका रूपमा बसोबास गर्दै आएका छन्।

केही वर्षयता त्यहाँ धार्मिक हिंसाका घटनाहरू बढेका छन्।

गत मार्च महिनामा भएको मुसलमानविरोधी दङ्गामा तीन जनाको मृत्यु भएको थियो। त्यति बेला मुसलमानहरूको स्वामित्वमा भएका झन्डै ४५० घर र पसलहरू क्षतिग्रस्त भएका थिए।

Share Now

Leave a comment.