Prakash Adhikari September 13, 2018

 

लमजुङ,२८ भदौ(रासस) । मर्स्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो।

सो घट्नामा परी बेपत्ता भएकी ७० वर्षीया ललितमाया गुुरुङको शव आज बिहान फेला परेको हो भने एकजना अझै बेपत्ता छन् ।

पहिरोमा पुरिएर बुधबार मस्र्याङ्दी–३ खुदी पल्लोटारीका ६० वर्षीया अभिरुपा थापा, १० वर्षीय सिराक थापा र मर्स्याङ्दी–४, श्रीचौरीकी अन्दाजी ४५ वर्षीय विष्णु गुरुङको मृत्यु भएको थियो।

बुधबार मर्स्याङ्दीले बगाएका दुईजना अझै बेपत्ता छन्। बेशीसहर नगरपालिका–१० चितिमा निर्माणाधीन तल्लो दोर्दी जलविद्युत् आयोजनाका श्रमिक बलिराम चौधरी र लक्ष्मण थारूलाई मर्स्याङ्दीको भेलले बगाएको हो।

उनीहरू बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिकाका हुन्। बाढीले उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिकाकै विभिन्न ठाउँमा चार घर, एउटा ट्र्याक्टर र तीन मोटरसाइकल बगाएको छ । बाढी पहिरोबाट जिल्लामा अहिलेसम्म नौजना घाइते भएको जिल्ला प्रकोप व्यवस्थापन समितिले जनाएको छ ।

निरन्तर पहिरो खसेका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध छ। अवरुद्ध सडकखण्डअन्तर्गत मर्स्याङ्दी–४ घोप्टेभिरमा २० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि हेलिकप्टर प्रयोग गरिए पनि सुरक्षित अवतरण हुन नसक्दा उद्धारमा कठिन भएको छ ।

Share Now

Leave a comment.