Prakash Adhikari September 14, 2018

 

काठमाडौं, २९ भदौ. । हिन्दु धर्मावलम्बी महिला शुक्रबार ऋषिपञ्चमी पर्व मनाउँदैछन्।

बिहान झिसमिसेमै उठी पायक पर्ने नदी, पवित्र ितलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, तिल, कुश, अपामार्ग (दतिवन) लगायतको प्रयोग गरी स्नान गर्ने चलन छ। महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउनेलगायत प्रक्रिया अपनाउँछन्।

३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिलाहरू चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्। विधिपूर्वक स्नान गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ।

कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठसहित अरुन्धती(वशिष्ठपत्नी) को पूजा गरिन्छ।

सप्तर्षिको पूजा गर्दा फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले महिनावारी भएका बेला अञ्जानमा गरेका पाप नष्ट हुन्छन् भन्ने मान्यता छ।
महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।

यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको छ ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएको छ ।

आज उपत्यकामा काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ । अन्य स्थानमा पधेरो वा पवित्रस्थलमा नुहाएर मन्दीर वा सबैलाई पायक पर्ने स्थानमा सामूहिक पूजा लगाउने चलन छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

आजैदेखि महिलाहरुको महान चाड तीजको औपचारिक समापन भएको मानिन्छ ।

Share Now

Leave a comment.