Prakash Adhikari March 13, 2026

काठमाडौँ, २९ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमै चयन गरिने भएको छ । सोहीअनुसार अध्यक्षका प्रत्याशी रोविन शेरचनले यसअघि दर्ता गराएको अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उहाँले अध्यक्षका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभयो ।

एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहितको उच्चस्तरीय वार्तामा सहमतिका लागि शेरचन अध्यक्षको दौडबाट पछि हट्नुभएको हो । वार्तामा शेरचनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ । सहमतिअनुसार उहाँले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराइसक्नुभएको छ ।

‘मेरो सुरुदेखि नै भनाइ संस्था एकताबद्ध हुनुपर्छ भन्ने थियो । सोहीअनुसार संस्थाको हितका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएको छु । सहमतिअनुसार वरिष्ठ उपाध्यक्षमा मैले मनोनयन दर्ता गराएको छु’, उहाँले भन्नुभयो । उनलाई १३औँ महाधिवेशनमा अध्यक्ष बनाउने सहमति समेत भएको स्रोतको दाबी छ ।

सहमति बनेपछि अध्यक्ष श्रेष्ठले अहिलेको आवश्यकता सहमति भएकाले सोहीअनुसार अघि बढिएको बताउँदै अहिले शेरचनले फिर्ता लिएको र अन्य आकाङ्क्षीहरूलाई पनि मिलाएर चुनाव नगर्नेतर्फ आफूहरूको ध्यान रहेको बताउनुभयो ।

केही महिनाअघि विभिन्न समूहमा विभक्त एनआरएनए एकीकृत भएको थियो भने सोही एकीकृत एनआरएनएको शनिबारदेखि १२ औँ महाधिवेशन सुरु हुँदैछ । यसैबिच सहमतिको वातावरण बनेसँगै निर्वाचन समितिले निर्वाचन कार्यतालिका हेरफेर गरेको छ ।

अधिकांश पदमा सर्वसम्मत

एनआरएनएको १२औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले उम्मेदवारहरुको पहिलो नामावली प्रकाशन गरेको छ ।

आगामी सन् २०२६–२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा विभिन्न महत्त्वपूर्ण पदहरुमा उम्मेदवारहरु निर्विरोध चयन भएका छन् ।

निर्धारित पद संख्याभन्दा बढीको उम्मेदवारी नपरेपछि उनीहरु सर्वसम्मत भएका हुन् । यसरी सर्वसम्मत हुनेमा अधिकांश उम्मेदवारहरु अध्यक्षका प्रत्यासी रोविन प्रसाद शेरचनको टिमका रहेका छन् ।

संघको पदाधिकारी तहमा विशेषगरी महिलातर्फका पदहरुमा सर्वसम्मतिको अवस्था देखिएको छ । महिला उपाध्यक्ष पदमा हङकङकी राधिका गुरुङ (टीका) को मात्र उम्मेदवारी परेको छ । त्यस्तै, महिला सचिव पदमा चीनबाट अमृता थापा (कञ्चन) र महिला सहकोषाध्यक्ष पदमा दक्षिण कोरियाबाट गंगा खतिवडा सर्वसम्मत हुनुभएको छ ।

क्षेत्रीय संयोजक (आरसी) जस्तो महत्त्वपूर्ण कार्यकारी भूमिकामा पनि विभिन्न क्षेत्रबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अफ्रिका क्षेत्रको संयोजकमा सेसेल्सबाट मनोज बी.के., अमेरिकाज क्षेत्रको संयोजकमा क्यानडाबाट भुवन खरेल, युरोप क्षेत्रको संयोजकमा पोर्चुगलबाट रोबोट लिम्बु र ओसियाना क्षेत्रको संयोजकमा अष्ट्रेलियाबाट रमेश जोशी निर्विरोध हुनुभएको छ ।

क्षेत्रीय महिला संयोजक तथा युवातर्फका पदहरुमा पनि धेरै उम्मेदवारहरु निर्विरोध चयन भएका छन् । क्षेत्रीय महिला संयोजकतर्फ अमेरिकाजबाट छात्रा कुमारी गुरुङ, एसिया प्यासिफिकबाट संगीता अधिकारी (सुवेदी) सर्वसम्मत हुनुभएको छ । मध्यपूर्वको क्षेत्रीय महिला उपसंयोजकमा यूएईकी मञ्जु मल्ल (उच्चै) को मात्र मनोनयन परेको छ । त्यसैगरी, दोस्रो पुस्ता संयोजक (सेकेन्ड जेनेरेसन कोर्डिनेटर( मा हङकङकी दीपमाला ढकाल निर्विरोध हुनुभएको छ भने युरोपको क्षेत्रीय युवा उपसंयोजकमा शिवसागर बुढाथोकी र मध्यपूर्वको युवा उपसंयोजकमा बासुदेव सापकोटा सर्वसम्मत हुनुभएको छ ।

त्यस्तै, कतिपय पदहरुमा माग गरिएको संख्या भन्दा कम वा बराबर मात्र उम्मेदवारी पर्दा उनीहरु पनि स्वतः सर्वसम्मत भएका छन् । अमेरिकाजको क्षेत्रीय उपसंयोजक (३ पद) का लागि नेत्र पाण्डे र सरोज अर्याल, मध्यपूर्वको उपसंयोजक (३ पद) का लागि बिकल झा र विकास शाही तथा ओसियानाको उपसंयोजक (३ पद) का लागि अरुण कुमार ठाकुर र छविप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेको छ ।

अध्यक्ष पदमा डा. हेमराज शर्मा र रबिनराज बज्राचार्यबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचन समितिले फागुन ३० गतेदेखि चैत १ गतेसम्म (मार्च १४–१५) काठमाडौँमा निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ ।

Share Now