Prakash Adhikari March 21, 2026

काठमाडौं, ८ चैत्र । आज विश्व पानी दिवस हो । विश्व पानी दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना दिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गर्नुभएको छ ।

विश्व पानी दिवस, २०२६ (२२ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभएको छ ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ, “पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार हो, मानव सभ्यताको विकासदेखि आजसम्म पानीले जीवनयापनका हरेक पक्षलाई दिशानिर्देश गरेको छ । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए, वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ ।”

भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा भएको र जसले पारिस्थितिकीय प्रणालीलाई दिगो बनाउने र नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्याउने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ । बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनास, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोतहरू सुक्दै गइरहेको उहाँको भनाइ छ ।

सन्देशमा भनिएको छ, “भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की भौतिक संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ, साथै अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ ।”

भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाहरूको निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्द्धन गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ तारिखलाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइँदै छ ।

उपराष्ट्रपति यादवद्वारा  शुभकामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “पानी जीवनको आधार हो, यसको संरक्षण र समुचित उपयोग हाम्रो साझा जिम्मेवारी हो ।”

उपराष्ट्रपति यादवले पछिल्लो समय पानी सङ्कटको गम्भीर चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनले हिमनदी पग्लिने दर बढाएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “भूमिगत पानीको स्तर घट्दै गएको छ, विशेषतः तराई–मधेसमा यो समस्या गम्भीर छ, पहाडी भूभागका झरना र प्राकृतिक स्रोतहरू सुक्दै गएका छन्, प्रदूषण, अव्यवस्थित संरचना र कमजोर व्यवस्थापनले जलासयहरूको क्षमता घटाएको छ ।” यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सबैले मिलेर काम गर्नुपर्ने र पानीको संरक्षण वातावरणीय मुद्दामात्र होइन, राष्ट्रिय अस्तित्व र भविष्यको प्रश्न पनि भएको उहाँको भनाइ छ ।

नेपाल जलस्रोतमा धनी देश भए पनि त्यसको उपयोग र संरक्षणमा अझै सक्षम बन्न नसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले नदी, ताल, झरना र भूमिगत पानीको दीर्घकालीन संरक्षणका लागि वैज्ञानिक दृष्टिकोण टड्कारो भएको बताउनुभएको छ । स्थानीय समुदायलाई सहभागी गराएर पानीको स्रोत व्यवस्थापन गर्दै आधुनिक प्रविधि प्रयोग गरी पानीको भण्डारण, पुनःउपयोग र शुद्धीकरणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “विश्व पानी दिवसले हामीलाई पानीको संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्ने, भावी पुस्ताका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउने, पानीको न्यायपूर्ण पहुँच सुनिश्चित गर्दै सामाजिक समानता बलियो बनाउने, हिमनदी, आद्र्रभूमि र प्राकृतिक स्रोतहरूको संरक्षणलाई सामूहिक अभियानका रूपमा अगाडि बढाउने, महिलाहरूको आवाजलाई सुन्ने र उनीहरूको भूमिकालाई मान्यता दिने सङ्कल्प लिन प्रेरित गर्न सकोस् ।”

Share Now