Prakash Adhikari March 29, 2026


काठमाडौं, १५ चैत्र । नयाँ सरकार गठनपछिको पहिलो दिनको शेयर कारोबार सर्किट लागेर बढ्ने अपेक्षा थियो । तर त्यसको विपरित शेयर बजारमा उच्च अंकको गिरावट आयो ।

आइतबार धितोपत्र बजार परिसूचक ७१.०५ अंक घटेर २८७९.११ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १२.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.६० अंक घटेको छ।

धितोपत्र बजार परिसूचक घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १३ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३३ स्टकको ३ करोड ५२ लाख ४८ हजार कित्ता शेयर खरिदबिक्रीबाट१५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको छ।

नेप्से घटेपनि यस दिन आधा दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकर भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ६।१७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७१ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको ५२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे ४८ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.३८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक ३ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

नयाँ सरकारमा अर्थ मन्त्रालयको बागडोर वरिष्ठ अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले सम्हाल्नुभएको र पद बहालीकै दिन अर्थतन्त्रको विकासको बाधक बन्ने १५ कानून खारेज गर्ने निर्णय गरेर सकारात्मक सन्देश दिन खोज्नुभए पनि सोही दिनको मन्त्रिपरिषद्को बैठकले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णय गरी भोलिपल्ट विदाको दिन अदालतको अनुमति नलिइकन पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई धरपकड गरिनुको साथै २०४८ सालयता उच्चपदमा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने सरकारको कार्ययोजनाले शेयरबजारका लगानीकर्ता आतंकित भएको बताइन्छ ।

Share Now