काठमाडौं, १ असोज । यौनदूराचारीको निर्मम हत्याको शिकार भएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तउपर भएको यौनदूराचार र हत्योका दोषि पत्ता लगाई कारबाही गराउने माग लिएर राजधानी आईपुग्नुभएका निर्मलाका बुबा आमाले आज प्रधानमन्त्री के.पी. शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति पूर्व प्रधानमन्त्री एवम शेरबहादुर देउवालाई भेट गरी न्यायको माग गर्नुभएको छ ।
हत्याको दोषि पहिचानका लागि भएको अनुसन्धानमा भएको लापरबाही र घट्नालाई ढाकछोप गर्न गरिएका थुप्रै सुनियोजित प्रयासबाट निराश भएका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तसहित कंचनपुरका महिला अधिकारकर्मीहरुलाई नेपाली कांग्रेसका नेताद्धय दिलेन्द्रप्रसाद बडु र रमेश लेखकले प्रधानमन्त्री निवास बालुवाटार र प्रतिपक्षी दलका नेताको निवास बुढानिलकण्ठ पुर्याउनुभएको थियो ।
प्रधानमन्त्रीसंगको भेटमा सांसद भीमबहादुर रावल र खगराज भट्ट हुनुहुन्थ्यो । भेटमा प्रधानमन्त्री ओलीले घट्नाको सत्यतथ्य पत्ता लगाएर दोषी पहिचान गरि कारबाहीको दायरामा ल्याउन नयाँ अनुसन्धान टोली गठन गरिएको बताउनुभयो । उहाँले दोषीलाई सजाँय दिलाएर छोड्ने आश्वासन पनि दिनुभयो ।
प्रधानमन्त्रीसंगको भेटपछि निर्मलाका बुबाआमासहितको कञ्चनपुरका महिला अधिकारकर्मीहरुको टोली प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेको थियो ।
पीडित पक्ष निर्मलाका बुबा आमा र अधिकारकर्मीहरुको कुरा सुनेपछि कांग्रेस सभापति देउवाले दोषी पत्ता लगाउन नेपाली कांग्रेसले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले यस्तो जघन्य अपराधलाई सरकारी मिलेमतोमा दबाउने दुस्प्रयास हुन्छ कि भन्ने आशंकाले नेपाली कांग्रेसले पनि सांसद दिलेन्द्रप्रसाद बडु र पूर्वमन्त्री बीरबहादुर बलायरलाई स्थलगत अवलोकन र जाँचबुझ गरि पार्टीमा प्रतिवेदन दिन लगाएको संझाउनुभयो ।
भेटमा नेपाली कांग्रेसका नेताहरुले सरकारले यो घट््नामा दोहोरो र संदिग्ध भूमिका खेलिरहेको बताउदै बास्तविक दोषीलाई पहिचान गरेर सजाँय नदिएसम्म समाजमा दूराचारीहरुको विगबिगी हटन नसक्ने भएकोले कांग्रेसले दोषी पहिचान गरेर कारबाहीको दायरामा नल्याएसम्म यो विषयलाई नछोड्ने पनि बताउनुभयो ।