काठमाडौं,१ असोज । नेपाल वायु सेवा निगममा कार्यकारी अध्यक्ष नियुक्त हुनुभएका मदन खरेलले सोमबार साँझ कार्यलयबहाली गर्नुभएको छ । निगममा पहिले नै महाप्रबन्धकको रुपमा कुशलतापूर्वक काम गर्नुभएका खरेल निगमको कार्यालय परिसरमा पुग्दा कर्मचारीहरुले न्यानो स्वागत गरेका थिए ।
निगमको कार्यकारी अध्यक्षमा खरेल नियुक्त भएपछि राजिनामा दिने नदिने दोधारमै रहनुभएका महाप्रबन्धक सुगतरत्न कंशाकारले समेत उहाँलाई न्यानो स्वागत गर्नुभयो । उहाँले नै स्वागत कार्यक्रममो संयोजन गरि कार्यकारी अध्यक्षलाई सहकर्मीहरुबीच परिचय गराउदै निगम र कर्मचारीको उज्वल भविष्यका लागि कार्यकारी अध्यक्षलाई सम्पूर्ण रुपले सघाउन आग्रह गर्नुभयो ।
पदबहाली र स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष खरेलले नेपालको राष्टिय ध्वजाबाहक निगम अत्यन्त संभावनायुक्त संस्था भएकोले यसको सुधारमा धेरै लामो समय नलाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफू मन,वचन र कर्मले यसको समुन्नतिमा समर्पित हुने बताउदै कर्मचारीहरुलाई भेदभाव नगरिने र सबैको सहयोग लिएर संस्थाको सुधार गर्ने बताउनुभयो ।
विगतमा महाप्रबन्धक रहदा समेत एअर बसका दुईवटा ३२०-२०० सेरिजका साँघुरा सेरिजका जहाज विवादरहित ढंगले ल्याएर निगमलाई सुधारको बाटोमा लग्नुभएका खरेलको आगमनले कर्मचारीहरुका नयाँ आशा सञ्चार भएको छ ।
पदबहालीको समयमा उहाँले निगमसंग भएका आन्तरिक र अन्तर्राष्ट्रिय उडानका जहाजहरुलाई पूर्ण क्षमतामा चलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले अन्तर्राष्ट्रिय उडानमा जहाज थपिए पनि गन्तव्य थप्न नसकिएकोप्रति संकेत गर्दै आफ्नो ध्यान बजारयोग्य गन्तब्य थप्नेमा पनि केन्द्रित हुने बताउनुभयो ।
कार्यकारी अध्यक्ष खरेलले निगमको वर्तमान अवस्थाका वारेमा आफू त्यति अपडेट नभएकोले सोको जानकारी लिएपछि अगाडि बढ्ने योजना ल्याउने पनि बताउनुभयो ।
उहाँले निगमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धामा नै चलाएर यसलाई सबल बनाउने विश्वास पनि व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, विमान उडाएरै वायुसेवा कम्पनीले सफलता प्राप्त गर्ने हो । त्यसैले निगमलाई विमान उडाएर गरी खानसक्ने कम्पनी बनाउन मेरो प्रयत्न हुन्छ ’।