वाशिंटन डीसी (संयुक्त राज्य अमेरिका), १९ चैत्र (बीबीसी) । पचास वर्षभन्दा लामो समयपछि चन्द्रमाको परिक्रमा गर्न अमेरिकी अन्तरिक्ष संस्था नासाको मानवसहितको यान ‘आर्टिमिस २’ प्रक्षेपण गरिएको छ।
अमेरिकाको फ्लोरिडास्थित केप क्यानावेरलमा रहेको केनेडी स्पेस सेन्टरबाट उडेको यो अन्तरिक्षयानले अहिले पृथ्वीको फन्को मारिरहेको छ।
यसमा सवार सदस्यहरूले सबै जाँच नसक्दासम्म पहिलो २४ घण्टा यसले पृथ्वीलाई फन्को लगाइरहने छ। त्यसमा सबै ठिकठाक देखिए उक्त यानलाई चन्द्रमातर्फ अगाडि बढ्न अनुमति दिइने अधिकारीहरूले बताएका छन्।
यो अन्तरिक्ष मिसनमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइजमन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरेमी ह्यान्सन सामेल छन्।
चालक दलका सदस्यहरू “सुरक्षित, निश्चिन्त र उच्च मनोबलका साथ” रहेको नासाका अधिकारीहरूले बताएका छन्।
नासाका अन्तरिक्षयात्री रिड वाइजमनले “भव्य दृश्य,” देखिएको बताए। प्रक्षेपणको केही समयपछि उनले भने “हामीले गजबको चन्द्रोदय देख्यौँ।”
आर्टिमिस २ को रकेट प्रक्षेपणतस्बिर स्रोत,Reuters
कुल १० दिन यो यानमा बिताउने अन्तरिक्षयात्रीहरूले चन्द्रमामा पाइला नटेक्ने तर चन्द्रमाको फन्को मार्ने योजना बनाएका छन्।
सन् १९६० र ७० को दशकमा प्रसिद्ध ‘अपोलो’ मिसनहरूमा मानिसले चन्द्रमामा पाइला टेकेका थिए।
उनीहरू यसअघि मानिसहरू पुगेको भन्दा पनि टाढाको दूरीसम्म यात्रा गरेर फर्कने योजना छ।
मिसनका विशेषज्ञ क्रिस्टिना कोचले अन्तरिक्षयात्रीहरूले तीन घण्टासम्म चन्द्रमाको सतहको यसअघि भएका भन्दा विस्तृतमा अध्ययन गर्ने पहिले नै बताएकी छन्।


















