Prakash Adhikari April 13, 2026

 

काठमाडौं, ३० चैत्र । विक्रम सम्वत् २०८२ को अन्तिम कारोबार दिन नेपालको शेयर बजार ओरालो लागेर बन्द भएको छ ।

सोमबार नेपाल धितोपत्र बजार परिसूचक ४.१८ अंक घटेर २८३३.६० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन क वर्गका कम्पनीहरुको शेयर बजार परिसूचक सेन्सेटिभ इण्डेक्स १.४९ अंक घटेको छ भने किनबेचका लागि बजारमा उपलब्ध शेयरहरुको फ्लोट इण्डेक्स ०.३९ र क वर्गका बजारमा उपलब्ध शेयरहरुको परिसूचक सेन्सेटिभ इण्डेक्स ०.४१ अंक घटेको छ।

धितोपत्र बजार परिसूचक संगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २ सय ७० स्टकका २ करोड १लाख ६३ हजार ७ सय ९३ कित्ता शेयरको किनबेचबाट ८ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

 

यस दिन ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मेन्छियाम हाईड्रोपावर कम्पनीको शेयरमूल्य ९.०१ प्रतिशत बढेको छ । सोमबारको बजारमा कारोबारमा आएको युनिक नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक ३.६० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। आज सो कम्पनीको ९३ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर डेभलपमेन्टको ४९ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको ४५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा टुरिजम उपसमूहको परिसूचक १.०२ प्रतिशत बढेको छ । जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन म्यूचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक १.६२ प्रतिशतभन्दा बढी घटेको छ। व्यपार, जीवन बीमा, वित्त, विकास बैंक र बैकिङ उपसमूहको परिसूचक सामान्य घटेको हो ।

Share Now