Prakash Adhikari April 14, 2026

 

काठमाडौं, १ बैशाख । नेपालीहरुले परम्परादेखि मनाउदै आएको विक्रम सम्वत आजदेखि अर्को नयाँ बर्ष २०८३ मा प्रवेश गरेको छ ।

नयाँ बर्षको आगमनलाई मातृभूमि नेपालबाट संसारभर छरिएका नेपाली र नेपाली मूलका नागरिकहरुले हर्षोल्लासपूर्वक मनाउदै छन् ।

सालको पहिलो दिन अर्थात नयाँ वर्षमा आफन्त र शुभचिन्तकसहित सबैलाई शुभकामना दिने प्रचलन संसारभर विकसित भएको छ। आज नेपालीहरुले आफूप्रति सद्भाव राख्ने सबैलाई सुस्वास्थ्य,दीर्घायु,सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दैै शुभकामना प्रदान गरिरहेका छन् भने नेपालीहरुको संस्कृति र परम्परा जानेबुझेका विदेशीहरुले नेपालीहरुलाई यस्तै शुभकामना दिईरहेका छन् ।

नयाँ वर्षले नयाँ सोंच,शैली,योजना र कार्यक्रम विकास गरी व्यक्तिगत, पारिवारिक,सामुदायिक,राष्ट्रिय समुन्नतिका मार्गहरु पहिल्याउन ऊर्जा दिने विश्वास गरिन्छ । नयाँ वर्षको उमंग विगतका दुःख कष्ट बिर्सने र असल कुराहरुलाई संगालेर नयाँ संकल्प लिएर उत्साहकासाथ अगाडि बढ्ने अवसर पनि हो । यसैले सबैका लागि नयाँ वर्षको विशेष महत्व रहने गर्दछ ।

नयाँ वर्षको अवसरमा आफन्तजनसँगको भेटघाट, सामूहिक जमघट गरी नाचगान, खानपिन गरी रमाइलो रमाइलो गर्ने गरिन्छ ।

नेपालको सम्बत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । विक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् एडी भन्दा करिब ५७ ९५६ दशमलव ७०वर्षले अगाडि छ।

विक्रम सम्वत भारत उज्जैनका राजा विक्रमादित्यले चलनमा ल्याउनुभएको थियो ।

विक्रमादित्यले चलनमा ल्याएकोले यो सम्वत्लाई विक्रम सम्वत् भनिएको हो।

नेपालमा सम्वत्को प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो।

त्यस भन्दा पहिले नेपालमा शक सम्वत् तथा नेपाल सम्वत् प्रयोग हुने गर्दथ्यो।

Share Now