किगाली(रुवाण्डा), ११ बैशाख । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीमा प्रतिस्पर्धा गरिरहेको नेपाली राष्ट्रिय महिला टोलीले हालसम्मका चार खेलमा दोस्रो हार बेहोरेको छ।
शुक्रवार भएको खेलमा नेपाली चेलीहरुले भानुआतुसंग अनपेक्षित २२ रनको पराजय ब्यहोर्नु परेको छ।
९८ रनको लक्ष्य पछ्याएको नेपाली टोली १५.३ ओभरमा ७५ रन जोड्दै अल आउट भयो। नेपालका लागि ३ खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके।
ओपनर सम्झना खड्काले १९ बलमा ४ चौकासहित टोलीका लागि सर्वाधिक २४ रन बनाइन् । कप्तान इन्दु बर्माले १३, कविता कुँवरले १० रन जोडिन् ।
नेपाललाई रोक्ने क्रममा भानुआतुकी भानेसा भिरा, नासिमाना नाभाइकाले समान ३ र सेलिना सोलमनले २ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भानुआतुले निर्धारण २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनायो ।
ओपनर भालेन्ता लाङगेटुले ५० बलमा समान २ छक्का र चौकासहित टोलीका लागि सर्वाधिक ४२ रन बनाइन्।
त्यस्तै नासिमानाले १८, सेलिना र सुसान स्टेफनले समान १० रन जोडे । नेपालका लागि रिया शर्माले २, रचना, मनिषा उपाध्याय र कविताले समान १ विकेट लिए।
नेपालले यसअघि आयोजक रुवान्डा र इटालीलाई हराएको नेपाल अमेरिकासँग पराजित भएको थियो।
५ टोली सहभागी च्यालेन्ज ट्रफीमा नेपाल तेस्रो स्थानमामा । नेपालसहित ४ टोलीको ४ अंक छ भने भानुआतुले आजको जितबाट २ अंक जोडेको छ।


















