कीर्तिपुर (काठमाडौं), १२ बैशाख । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज कीर्तिपुरमा भइरहेको खेलमा नेपालले युएई समक्ष २ सय १ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर २ बलमा अल आउट हुँदै २ सय रनको योगफल तयार गरेको छ ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले धैर्यतापूर्वक ब्याटिङ गरे । उनले धराशयी भएको नेपाललाई ढाडस दिंदै दुई सय रनको स्थितिमा ल्याए ।
दीपेन्द्र ९० बलमा ७५ रन बनाए । उनी १० औं विकेटका झर्दा आउट हुन पुगे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २४, आसिफ शेखले ७, भीम सार्कीले १०, कप्तान रोहित पौडेल र सन्दीप लामिछानेले २।२, बसिर अहमदले २०, आरिफ शेखले १५, सोमपाल कामीले १५ र करण केसीले २२ रनको योगदान दिए । ललित राजवंशी शून्यमा अविजित रहे ।
नेपाललाई रोक्ने क्रममा युएईका अजय कुमार र जुनेक सिद्दिकीले समान ३–३ विकेट लिए । खुजाइमा तनभीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक-एक विकेट लिए ।


















