१२ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ छनोट खेलअन्तर्गत जारी नेपाल श्रृखलाको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको शानदार जित निकालेको छ ।
नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १ सय ६३ रनमा अल आउट भयो ।
युएईका लागि हर्पित सिंह भाटियाले ३९ रन बनाए भने आर्यंश शर्मा १८, आदिब उसमानी १, मोहम्मद शाहदाद २, अक्षदीप नाथ ३०, कप्तान मोहम्मद वासिम ३४, खुजाइम तनविर १, अजय कुमार २ र निलांश केश्वानी १८ रनको योगदान दिए । जुनेक सिद्दिकी ७ रनमा अविजित रहे ।
युएईलाई रोक्ने क्रममा नेपालका करण केसीले ४, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक(एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा २ सय रनको योगफल तयार पारेको थियो । । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ९० बलमा ७५ रन बनाएका थिए ।
खेलमा नेपालका ओपनर कुशल भुर्तेलले २४, आसिफ शेखले ७, भीम सार्कीले १०, कप्तान रोहित पौडेलले २, बसिर अहमदले २०, आरिफ शेखले १५, सोमपाल कामी १५ र करण केसीले २२ रन जोडेका थिए । ललित राजवंशी शून्यमा अविजित रहे ।
नेपाललाई रोक्ने क्रममा बलिङमा यूएईका अजय कुमार र जुनैद सिद्दिकीले समान ३–३ विकेट लिए । खुर्जा तनविरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एकएक विकेट लिए । अब नेपालले दोस्रो खेल बुधबार ओमनसँग खेल्नेछ ।
नेपालले लिग टु मा ४ खेलपछि पहिलो जित निकालेको हो । यो १० महिनापछिको पहिलो जित समेत हो ।


















