काठमाडौं, १४ बैशाख । नेपालको सफल सञ्चार गृहको रुपमा स्थापित कान्तिपुर दैनिकले बैशाख ८ गते प्रकाशित गरेको गृहमन्त्री गुरुङसम्बन्धी नयाँ कागजातले उब्जाएका तथ्य र अनुत्तरित प्रश्नहरू शीर्षकको समाचारले नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंकलाई निकै अप्ठ्यारोमा पारेको देखिएको छ ।
तात्कालीन गृहमन्त्री सुधन गुरुड.को आर्थिक कारोबारको विषयमा खोजिनीति गर्दा कान्तिपुरले गुरुड. र उनी आबद्ध भनिएको हामी नेपाली नामक संस्थाको बैंक विवरण प्रकाशित गरिदिएको छ । सो विवरण नबिलसंग संबन्धित भएकोले नबिलमाथि ग्राहकको गोपनीयता कायम राख्न नसकेको आरोप लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सुधन गुरुड जेनजी आन्दोलनदेखि रहस्यमय तरिकाले राजनीतिमा उदाएका पात्र हुनुहुन्छ । जेनजी आन्दोलनको सफलता लगत्तै स्वदेशी र विदेशी मिडियाले उहाँलाई जेनजी आन्दोलनको नेतृत्वकर्ताको रुपमा उभ्याएका थिए । आन्दोलनपछि अन्तरिम सरकार गठन गर्दा सैनिक मुख्यालयमा उनलाई नेतृत्वदायी भूमिकामा सरोकारवालासंग वार्ता गर्न लगाइयो । सुशीला कार्की अन्तरिम प्रधानमन्त्री भएपछि उहाँलाई त जेठो छोरा नै भन्नुहुन्थ्यो । त्यसपछि पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौंका मेयर बालेन शाहलाई समाहित गराउन, कुलमान घिसिड.लाई ल्याउन उहाँलाई अगाडि सारिएको थियो । फागुन २१ को निर्वाचनमा गोर्खाबाट टिकट दिनु, जितेर आएपछि गृहमन्त्रीमा नियुक्ति हुनु र आर्थिक कारोबारको विवादमा नाम जोडिनुले उहाँको आर्थिक गतिविधिमा नागरिकस्तरमा चासो हुनु स्वभाविकै थियो ।
कान्तिपुरको समाचारमा सुधन गुरुड.को हामी नेपाल नामक संस्थाको बैंक विवरणमात्रै छैन । त्यसमा सुधनको संलग्नतामा खोलिएको एडभेञ्चर भिल्ला प्रा.लिको नाममा लक्ष्मी सनराइज बैंकमा भएको कारोबारको विवरण पनि छ । त्यस्तै गुरुड.कै संलग्नता रहेको लगुम प्रिमियम अपार्टमेन्ट प्रालि र होप होल्डिड.स् प्रा.लि.ले प्रभु बैंकमा खोलेको खातामा भएको वित्तीय विवरणका कारोबारको पनि उल्लेख छ ।
कान्तिपुरको समाचारको भाष्य हेर्दा यो विवरण उनीहरुले कुनै अनुसन्धान निकायबाटै पाएको हुन सक्ने संभावना पनि देखिन्छ । समाचारको पेटबोलीमा नै “..करिब २५ लाख छिरिङ छोम्बेल गुरुङको बैंक खाताबाट सुधनको खातामा जम्मा गरिएको देखिन्छ । यो रकम सुशीलकुमार श्रेष्ठ र सुरेशकुमार यादवद्वारा नगदमा जम्मा भएको छ । यी दुवै व्यक्ति सीमाभन्दा बढी कारोबार गरेर पटक पटक अनुसन्धानकारी निकायको सूक्ष्म निगरानीमा रहेका व्यक्ति हुन् ।..” भन्ने उल्लेख भएकोले पनि सो पुष्टि हुन आउछ ।
अब प्रश्न आउछ, अनुसन्धानकारी निकाय को हो भन्ने । नेपालमा आर्थिक वित्तीय कारोबारको अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभाग नै गठन भएको छ । कतिपयमा अख्तियारले हात हालेको देखिएको छ । कतिपयमा राष्ट्रिय सतर्कता केन्द्रले हात हालेको छ । शेयर कारोबार लगायतमा धितोपत्र बोर्डले पनि छानबिन गरिरहेको पाइन्छ । अनौठो कुरा त के छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले कागभन्दा चतुर मानिएका नेपालका कुमाइ प्रधानमन्त्री के.पी. शर्मा ओलीको सरकारी सुरक्षा टिममा आफ्ना मान्छै खटाइएर सूचना लिने गरेको जानकारी टेलिभिजन टक सोमा उनकै कार्यकर्ताले गर्वसाथ भनेका छन् । जेनजी आन्दोलनमा टाउकोमा थोपरिएका सुधन रास्वपामा आएर गृहमन्त्री भएको सो पार्टीका स्थापित नेताहरुलाई नै मन परेको थिएन । यसैले सूचना संकलन र चुहाउने कार्यमा सो पार्टीको संयन्त्र संलग्न थिएन भन्न सकिने अवस्था पनि छैन ।
नेपाल प्रहरीले आफ्नो तालुकदार मन्त्री रहेको व्यक्तिको बारेमा कुनै सूचना संकलन नगरेको स्पष्ट पारिसकेको छ । तर गृहमन्त्री पदमा बहाल रहदा नै सुधन गुरुड. अख्तियार गएको समाचार बजारमा तातो केक जस्तै भएको थियो । सूचना त सो अधिकार प्राप्त निकायबाट पनि चुहिन सक्छ ।
यसैले रास्वपा कार्यकर्ताहरु कान्तिपुर र नबिल बैंकमाथि खनिनुको कुनै तुक देखिदैन । महत्वपूर्ण कुरा त आफ्ना नेता र कार्यकर्तालाई वैध व्यवसायबाट आर्जन गर्न, सदाचारमा बस्न र पारदर्शी जीवन पद्धति अबलम्बन गर्न लगाउनु हो । आफ्नो बैंकमा खाता रहेको व्यक्तिको बैंक विवरण सार्वजनिक हुँदा नबिल बैंकले जुन संवेदनशीलता देखाएको छ, ग्राहकको गोपनीयता कायम गर्ने व्यवसायिक धर्ममा कही कतै नचुकेको दावी गरेको छ, त्यसलाई विश्वास गर्नै पर्दछ । अनुसन्धान निकायहरुले आफ्नो गोपनीयता र मर्यादा कायम गर्न नसकेकोमा बैंकलाई दोष दिनु न्यायसंगत ठहरिदैन । अरु बैंकका विवरण पनि साथमा आएकोले नबिल बैंकबाटै विवरण दिएको दोष दिन पनि मिल्दैन ।
त्यसो त अहिले सूचना प्रविधिमा दखल राख्नेहरुले अरुका वेभसाइटहरुमा प्रवेश गरेर पनि अनधिकृत सूचना लिने गरेको पाइन्छ । जुलियस असाञ्जे र उहाँको विकिलिक्सको घटना पत्रकारहरुले बिर्सने कुरै भएन ।
गोपनीयता संवेदनशील नबिल
नबिल बैंकले गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने आधारहीन तथा प्रमाणविहीन प्रचार-प्रसार भइरहेकोप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उसले भनेको छ, यस्ता भ्रामक सूचनाले जनमानसमा बैंकिङ सेवाप्रतिको विश्वासलाई प्रभावित पार्ने प्रयास गरेको देखिएकाले बैंक यस किसिमको भ्रमपूर्ण तथा प्रमाणविहीन सम्प्रेषणको स्पष्ट रुपमा खण्डन गर्दछ।
उसले भनेको छ, “मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित ‘गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरु’ शीर्षकको समाचारमा स्पष्ट रूपमा कान्तिपुर दैनिकले ‘… अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैंकिङ कारोबारको विवरण…’ भनी उल्लेख गरेको छ। उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न मितिमा भएका कारोबारहरू प्रकाशित भएको तथ्यलाई नजरअन्दाज गर्दै केही व्यक्तिहरुद्वारा सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित रुपमा दुष्प्रचार गरिएकोप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।”
बैंकको विज्ञप्तिमा भनिएको छ,” बैंक सम्पूर्ण सरोकारवालाहरुलाई स्पष्ट रुपमा जानकारी गराउन चाहन्छ कि कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि, वा नियामकीय तथा अनुसन्धानकारी निकायहरुले कानूनी प्रक्रिया अनुसार मागेको अवस्था बाहेक बैंकले कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराउन मिल्दैन, गराउँदैन र गराएको पनि छैन ।”
बैंकको कुनै पनि ग्राहकको विवरण कसैले लिएको अवस्थामा बैंकको रेकर्डमा कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि निकालेको हो भन्ने सम्पूर्ण विवरण तथा लगत बैंकको प्रणाली अर्थात् कोर बैंकिङ सिस्टममा सुरक्षित रुपमा अभिलेखित रहने कुरा पनि बैंकले जनाएको छ ।
“यस सम्बन्धमा बैंकमाथि लगाइएका सम्पूर्ण आरोप तथा अनुमानहरु गलत, भ्रामक तथा आधारहीन रहेको कुरा स्पष्ट पार्दछौं। इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकको हैसियतले नबिल बैंक लिमिटेडले प्रचलित कानून, नियमन, प्रावधान तथा निर्देशन एवं आन्तरिक सुशासन तथा सूचना सम्बन्धी नीतिहरुको पूर्ण रुपमा पालना गर्दै ग्राहक सूचनाको पूर्ण गोपनीयता कायम गर्न कटिबद्ध रहेको जानकारी गराउँदछ ।”, बैंकको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, “बैंकिङ गोपनीयता कायम राख्नु तथा ग्राहकको सूचनाको संरक्षण गर्नु बैंकिङ नैतिकता तथा अनुपालनको आधारभूत सिद्धान्त हो। बैंकले यस सम्बन्धमा सधैं उच्चतम मापदण्ड तथा अभ्यासहरूको पालना गर्दै आइरहेको समेत जानकारी गराउन चाहन्छौं।नबिल बैंकजस्तो जिम्मेवार, चार दशकभन्दा बढीको विश्वसनीय इतिहास भएको बैंकले कुनै ग्राहकको व्यक्तिगत विवरण कुनै अनधिकृत व्यक्तिलाई हस्तान्तरण गर्ने वा जानकारी दिने सम्भावना छैन र रहँदैन ।”
सूचनाको स्पष्ट स्रोतसहित प्रकाशित समाचारलाई बंग्याउँदै बैंक सम्बन्धमा दुष्प्रचार गर्ने व्यक्ति तथा निकायलाई तथ्यहीन दुष्प्रचार नगर्न तथा जनमानसलाई भ्रमित नपार्न आग्रह गर्दछौं। साथै, नियोजित दुष्प्रचार गर्ने व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानूनअनुसार कानूनी कारबाहीको प्रक्रियामा जान बैंक बाध्य हुने पनि बैंकले जनाएको छ ।
बैंकको विज्ञप्तिमा भनिएको छ , “बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा सरोकारवालाहरूमा यस्ता दुष्प्रचारमा विश्वास नगर्न हुन अनुरोध गर्दछौं। साथै, बैंकले ग्राहक गोपनीयतामा सधैं सचेत रही, ग्राहक सुरक्षासम्बन्धी विभिन्न प्रविधिहरूको प्रयोगमार्फत उच्चतम सुरक्षित सेवा प्रदान गर्दै आएको र भविष्यमा पनि निरन्तर उच्च गुणस्तरीय, विश्वसनीय सेवा दिन सधैं कटिबद्ध रहेको पुनः विश्वास दिलाउन चाहन्छौं।”


















