काठमाडौं, १६ बैशाख। नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा. नवराज अधिकारी उमेर हदका कारण रिटायर हुनुभएको छ।
२०५६ असोज ३ गते धितोपत्र बोर्डमा अधिकृतका रूपमा प्रवेश गरेका अधिकारी ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानुभएको हो।
धितोपत्र बोर्डको जागीरे जीवनमा उहाँले २६ वर्ष ७ महिना बिताउनुभयो । सो अवधिमा उहाँले बोर्डको सदस्य सचिव, प्रवक्ता तथा कार्यकारी प्रमुखको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो ।
उहाँले २०७९ जेठ २६ गते कार्यकारी निर्देशकमा बढुवा हुनुभएको थियो।
अवकाशमा जानु अगाडि उहाँलाई बिहिबार धितोपत्र बोर्डले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको थियो ।
कार्यक्रममा सहभागीहरूले डा. अधिकारीको सेवाकालीन योगदानको मूल्यांकन गर्दै उनको आगामी जीवनको सुख, स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।
धितोपत्र बोर्डको नीति निर्माण, कर्मचारी क्षमता अभिबृद्धि, लगानीकर्ता शिक्षा तथा सचेतना , बजार सुपरीवेक्षण र अनुगमनमा महत्वपूर्ण योगदान गर्नुभएका अधिकारी बोर्डको नेतृत्व लिन अग्रसर हुनुहुन्छ । उहाँले अर्थ मन्त्रालयले थालेको बोर्डको अध्यक्ष चयन प्रक्रियामा प्रतिस्पर्धा गर्ने जानकारी दिनुभएको छ । विगतमा पाँच पटकसम्म बोर्ड अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्नुभएका डा. अधिकारी जेन जी आन्दोलनको भावना अनुसार भ्रष्टाचाररहित सुशासन युक्त धितोपत्र बोर्ड र स्वस्थ,पारदर्शी र प्रतिस्पर्धात्मक पुँजी बजार विकासमा योगदान दिन इच्छुक हुनुहुन्छ ।


















