काठमाडौं, २४ वैशाख । आज बसेको संवैधानि परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ। संसदको सार्वजनिक सुनुवाई समितिले उहाँको नाम अनुमोदन गरेमा उहाँ नेपालको ३३ औं प्रधानन्यायाधीश नियुक्त हुनुहुनेछ ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना मानिएको छ ।
उहाँले २०७६ वैशाख ६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको हो । २०२७ सालमा जन्मिनुभएका ५६ वर्षीय शर्मा पुरै ६ बर्ष प्रधानन्यायाधीश रहनुहुनेछ ।
आज अपरान्ह ५ बजे बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहनुभएका शर्मालाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।
पर्सामा २०२७ साल असार ४ गते जन्मिनुभएका शर्मा , २०९२ सालमा मात्रै ६५ वर्ष पुग्नुहुन्छ । ६ वर्षे कायकाल पूरा गर्दा उहाँ वैशाख, २०८९ सम्म प्रधानन्यायाधीश रहनुहुन्छ ।
भारतको पुने विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गर्नुभएका शर्माले श्रम कानूनसँग सम्बन्धित विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँ पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएर अस्थायी न्यायाधीशको व्यवस्था हटाएपछि अवकाशमा जानुभएको थियो ।
चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश भएका बेलामा उहाँ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भइ संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन हुनुभएको हो।


















