काठमाडौ,६ असोज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संगठनले आईतबार देशका ७७ जिल्ला सदरमुकाममा कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारबाहीको दायरामा ल्याउन र महिला सुरक्षा सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गर्ने भएको छ ।
संघद्धारा शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष उमा रेग्मीले सो जानकारी दिनुभएको हो ।
महिला संघले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाएर दोषीमाथि कारबाही गर्न सरकारले ढिलाई गरेकोले विगत केही महिनायता देशभर बालिका,किशोरी र महिला बलात्कार र हत्याका घट्ना बृद्धि भएको जनाएको छ ।
महिलामाथि अत्याचार गर्ने पीडकहरुलाई दण्ड नदिएकोले समाजमा महिला हिंसा र हत्या बढेको ठहर गर्दै देशभर महिला सुरक्षाको स्थिति मजबूत बनाउन चेतना जगाउने र सरकारलाई दोषिमाथि कारबाही गर्न दबाब दिने उद्देश्यले सो प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
महिला संघले महिला सुरक्षालाई लिएर तयार पारिएको माग पत्र जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई बुझाउने भएको छ ।
काठमाडौं उपत्यकामा भने काठमाडौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका महिलाहरुले संयुक्त रुपमा काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गर्नेछन र प्रधानमन्त्रीलाई संबोधन गरिएको माग पत्र जिल्ला प्रशासन कार्यालय बबरमहलमा लगेर बुझाउने कार्यक्रम छ ।