Prakash Adhikari September 24, 2018

 

माले(मालदिभ्स् ), ८ असोज(बीबीसी) । माल्दिभ्सको राष्ट्रपतिय चुनावमा प्रारम्भिक मत परिणामअनुसार इब्राहिम मोहमद सोलेको पक्षमा ५८ प्रतिशत मत खसेको बताइएको छ।

माल्दिभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलेले हिन्द महासागरको रणनीतिक रूपमा महत्त्वपूर्ण सो टापु देशको राष्ट्रपतिय निर्वाचनमा आफू विजयी भएको बताएका छन्।

राजधानी मालेका सडकमा मुसलधारे पानीको बेवास्ता गरी उर्लेका उनका समर्थकहरूले राष्ट्रपति अब्दुल्लाह यामीनले सत्ता छोड्न पर्ने बताएका छन्।

प्रारम्भिक परिणामअनुसार इब्राहिमको पक्षमा ५८ प्रतिशत मत खसेको बताइएको छ।

उनले शान्तिपूर्ण सत्ता हस्तान्तरणका निम्ति राष्ट्रपति यामीनलाई आग्रह गरेका छन्।

सोले भारतसँग नजिक ठानिन्छन्।

हिन्द महासागरको यो टापु राष्ट्र चीन र भारतबीच प्रतिस्पर्धाको क्षेत्र बनेको थियो।

 

सहयोग

भारत माल्दिभ्सको परम्परागत सहयोगी राष्ट्र हो।

तर पछिल्ला वर्षहरूमा राष्ट्रपति यामीनको पूर्वाधार विकासका योजनालाई चीनले निकै सघाएको छ।

४७२ मध्ये ४३७ मत पेटिकाको मत गणना भइसक्दा सोले राष्ट्रपति यामीनभन्दा निकै अगाडि देखिएको संचार माध्यमहरूले जनाएका छन्।

माल्दिभ्सको निर्वाचन आयोगले निर्वाचन सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको जनाएको छ।

परिणाम
हालसम्म कुनै नतिजा सार्वजनिक नगरेको सो आयोगले ७ दिनभित्र अन्तिम मत परिणाम घोषणा गर्ने जनाएको छ।

चीन निकट ठानिएका राष्ट्रपति यामीनको पक्षमा निर्वाचनको परिणाम निस्किएला भन्ने धेरैको विश्वास थियो।

यामीनमाथि विपक्षीका आवाज दमन गरेको आरोप लाग्ने गरेको छ।

सो चुनावलाई क्षेत्रीय शक्ति राष्ट्रहरू भारत र चीनले नजिकबाट नियालिरहेका थिए।

Share Now

Leave a comment.